चौदण्डीगढीमा नेपाली सेनाले सर्पदंशको उपचार सेवा राख्ने

उदयपुर । उदयपुरको चौदण्डीगढी नगरपालिकामा नेपाली सेनाको १८ नम्बर बाहिनी अड्डाले सर्पदंश उपचार सेवा राख्ने भएको छ ।
उदयपुरको चौदण्डीगढी नगरपालिकाको बेल्टारमा रहेको आधारभूत नगर अस्पतालमा नेपाली सेनाको त्रियुगा नगरपालिका ३ भुल्केमा रहेको १८ नम्बर बाहिनी अड्डाले सर्पदंश उपचार सेवा राखेर बिरामीलाई सेवा प्रदान गर्ने भएको छ ।
यस अघि नेपाल कम्युनिष्ट पार्टी (एमाले) उदयपुरको टोलीले चौदण्डीगढी नगरपालिकामा नेपाली सेनाको सर्पदंश उपचार सेवा विस्तार गर्न रक्षा मन्त्रालय समक्ष अनुरोध गरेको थियो ।
एमाले उदयपुरका अध्यक्ष भागवत राउतको नेतृत्वमा रक्षा मन्त्री मानवीर राईलाई भेट गरेर नेपाली सेना १८ नम्बर बाहिनी अड्डामा रहेको सर्पदंश सेवालाई विस्तार गरि चौदण्डीगढी नगरपालिकाको बेल्टार सेवा प्रदान गर्न माग गरेको थियो ।

चौदण्डीगढीको बेल्टार लगायतका क्षेत्रबाट सर्पदंशका बिरामीको उपचारको लागि नेपाली सेनाको १८ नम्बर बाहिनी भुल्के वा सुनसरीको धरान स्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पुर्याउनु पर्ने बाध्यता रही आएको छ भने समयमा उपचार अभावमा वर्षेनी सर्पदंशका बिरामीले ज्यान गुमाउँदै आएका छन् ।
यसअघि नेपाली सेनाको १८ नम्बर बाहिनी भुल्केबाट तत्कालीन प्राथामिक स्वास्थ्य केन्द्र बेल्टारमा २०७५ र २०७६ मा अस्थायी सर्पदंश सेवा केन्द्र स्थापना गरि सेवा प्रदान गरेको थियो । २०७५ र २०७६ मा अस्थायी सर्पदंश सेवा केन्द्र स्थापना गरि सेवा प्रदान गरेको नेपाली सेनाको १८ नम्बर बाहिनी भुल्के झन्डै ६ सय सर्पदंशका बिरामीको सफल उपचार गरेको थियो ।
हरेक बर्ष गर्मी सिजनमा बिषालु सर्पले सो क्षेत्रका स्थानीयलाई दुःख दिँदै आएको छ । पछिल्लो समय अस्थायी सर्पदंश सेवा केन्द्र स्थापना गरि स्थानीय स्तरमै उपचार प्रदान गर्न चौतर्फी माग समेत हुँदै आएको थियो ।
सोमबार जिल्ला सदरमुकाम समेत रहेको त्रियुगा नगरपालिका ३ भुल्केमा रहेको १८ नम्बर बाहिनी अड्डाका प्रमुख सेनानी (कर्णेल) हिमाचल जङ्ग शाह, १८ नम्बर बाहिनी सर्पदंश टिमका कमान्डर सुबेदार दिलबहादुर खड्का सहित टोलीले आधारभूत नगर अस्पताल र कोभिड अस्पतालको स्थलगत अवलोकन गर्नु भएको थियो ।
अस्थायी सर्पदंश सेवा केन्द्र स्थापना गर्न नेपाली सेनाको १८ नम्बर बाहिनी तयार भएसँगै सोमबार सेवा बिस्तार गर्ने ठाउँको अवलोकन गरिएको प्रमुख सेनानी (कर्णेल) हिमाचल जङ्ग शाहले बताउनु भयो । उहाँले आफूहरूले स्थलगतरुपमा सेवा बिस्तारलाई लिएर ठाउँको अवलोकन गरेको र सोही आधारमा प्रतिवेदन बनाएर माथिल्लो तहमा पेश गर्ने बताउँदै माथिबाट निर्देशन प्राप्त हुनासाथ अस्थायी सर्पदंश सेवा केन्द्र स्थापना गरि सेवा सञ्चालनमा ल्याइने बताउनु भयो ।








प्रतिक्रिया राख्नुहोस्