श्रवण शक्तिसम्बन्धी समस्या भएका सेवाग्राहीलाई दोभासे
तनहुँ । यहाँको व्यास नगरपालिकाले श्रवण शक्तिसम्बन्धी समस्या भएका सेवाग्राहीका लागि दोभासे राखेको छ ।
नगरपालिकाले दोभाषे राखेपछि श्रवण शक्तिसम्बन्धी समस्या भएका सेवाग्राही खुसी भएका छन् । अहिले नगरपालिकाले दोभाषे राखेर श्रवणशक्ति नभएका र सुस्तश्रवण भएका व्यक्तिलाई सेवा प्रवाह सुरु गरेको हो । उनीहरूले बोलीचालीका सामान्य भाषा सुन्न नसक्दा/नबुझ्दा हुने गरेका समस्या दोभासे राखेपछि हटेको व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले बताउनुभयो । उहाँका अनुसार श्रवणसम्बन्धी समस्या भएकाको कुरा बुझ्नै समस्या भएपछि सहजीकरण गर्न दोभाषे राखिएको हो ।

नगरपालिकाले दोभाषेका रुपमा ज्ञानु पन्थलाई गत साउन १६ गते नियुक्त गरेको हो । प्रमुख न्यौपानेले भन्नुभयो, “भाषा नबुझ्दा निकै समस्या हुन्थ्यो । नगरपालिका सङ्घले दोभाषे राखेर सेवा प्रवाहलाई प्रभावकारी बनाउने लक्ष्य लिएर दोभाषे तालिमको व्यवस्था गरेपछि यहाँबाट एक जनालाई पठाएर तालिम प्राप्त गराएर नियुक्त गरेसँगै सेवा प्रवाहमा सहज भएको छ ।”
यसले लक्षितवर्ग पनि हर्षित भएको उहाँको भनाइ छ । नगर प्रमुख न्यौपानेले भन्नुभयो, “उनीहरूका भाषा बुझ्न मान्छे खोज्नुपर्ने अवस्था थियो । दोभाषे राखिएपछि अहिले नगरपालिका श्रवणसम्बन्धी अपाङ्गतामैत्री बनेको छ । उनीहरूको काम गर्न सजिलो भएको छ ।”
श्रवण शक्तिसम्बन्धी समस्या भएका मनोज थापा र कमल श्रेष्ठ भन्नुहुन्छ, “हामी खुसी भएका छौँ । व्यास नगरपालिकाले हाम्रा कुरा सुन्यो र दोभासे राखिदिएको छ । बुझाउन समस्या भएको अवस्थामा दोभासेले बुझाइदिनुहुन्छ ।” व्यासमा मात्रै नभएर अन्य पालिकाले पनि यस कार्यलाई अनुसरण गरी हामी जस्ता फरक क्षमताका मानिसको समस्या सुल्झाउने प्रयास गर्नुपर्नेमा उहाँको जोड छ ।
उहाँले भन्नुभयो, “पहिला नगरपालिकामा काम लिएर आउँदा कसैले पनि नबुझेर लेख्नुपर्ने अवस्था थियो । अहिले सिधै समस्या लिएर मेयरसँग कुरा गर्छौँ । अनि समस्या समाधानमा सहज भएको छ । त्यसैले हामी धेरै खुसी छौँ ।” नगरपालिकाले पन्थलाई तीन महिनाको तालिमपश्चात् दोभाषेका रुपमा नियुक्त गरेको हो । नगरपालिकाभित्र कूल दुई सय ९१ मध्ये एक सय आठ श्रवण शक्तिसम्बन्धी समस्या भएका तथा सुस्तश्रवण व्यक्ति छन् ।








प्रतिक्रिया राख्नुहोस्