नेपाल वायूसेवा निगमले आजदेखि टोकियोको उडान सुरु गर्यो
टोकियो, जापान । नेपाल वायूसेवा निगमको वाइड बडी विमानले आजदेखि काठमाडौं– टोकियोको सिधा उडान सुरु गरेको छ । टोकियोको नारिता अन्तर्राष्ट्रिय विमानस्थलमा सोमबार बिहान स्थानीय समय अनुसार १० बजेर ५० मिनेटमा नारितामा अवतरण गरेको छ । बिमान बिमानस्थलमा ओर्लदा त्यहाँ रहेका नेपालीहरु हर्षित भएका छन् । 
निगमले साताको सोमबार, बुधबार र शुक्रबारको उडान इजाजत पाएको छ । सोहीअनुरुप सोमबार काठमाडौंबाट नारिता उडान भरेको हो ।
निगमले गत भदौ १२ गते ओसाका उडान शुरु गरेको थियो । तर नेपाली नागरिक र नेपाल आउने पर्यटकलाई ध्यानमा राखेर ओसाका उडान बन्द गरेर काठमाडौ–नारिता उडान सुरु गरेको हो । ।
निगमको पहिलो व्यवसायिक उडानमा काठमाडौं नारिताका लागि २२० जनाले टिकट काटेका थिए । नारिताबाट काठमाडौँ जानेमा २६८ जनाले टिकट लिएका छन् ।
गैर आवासीय नेपाली संघ जापानका अध्यक्ष देवीलाल भण्डारीले जापानको नारिता शहरमा उडान सुरु गरेर सरकारले सह्रानीय काम गरेको प्रतिक्रिया दिनुभयो ।
भण्डारीले जापानको नारिता, टोकियो, चिवालगायत ठाउँमा धेरै नेपाली बस्ने भएकाले उडानले मद्दत पुगेको बताउनुभयो ।
गैर आवासीय नेपाली संघ जापानका अनुसार जापानमा ९० हजार नेपाली छन् । त्यसमा ३० हजार विद्यार्थी र बाँकी व्यवसाय गर्ने व्यक्ति र कामदार छन् ।
नेपाल वायु सेवा निगमको ध्वजाबहाक विमान सिधै जापान आउनु राष्ट्रको गौरव भएको जापानको सेन्डाई शहरमा बस्दै आउनुभएकी कुसुम थामीले बताउनुभयो ।
जापानको टोकियोमा एक दशकदेखि बस्दै आउनुभएका सुुरेश बस्ताकोटीले पनि जापानमा सिधै नेपालको विमान आउँदा गौरवको अनुभूति भएको र जापानमा बस्ने नेपाली र पर्यटकका लागि राम्रो सुरुवात भएको प्रतिक्रिया दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्