गठ्ठाघर दुर्घटना: दुर्घटनाको गम्भीरतापूर्वक छानबिन गर्न प्रहरीलाई निर्देशन

भक्तपुर । गृहमन्त्री रमेश लेखकले भक्तपुरको गठ्ठाघरमा बिहीबार दिउँसो भएको सवारी दुर्घटनाको गम्भीरतापूर्वक छानबिन गर्न प्रहरी महानिरीक्षक वसन्त कुँवरलाई निर्देशन दिनुभएको छ ।
गृहमन्त्रीको निर्देशनपछि प्रहरीमार्फत घटनास्थलको सिसिटिभी फुटेज बाहिरिएको छ । बिहीबार दिउँसो भक्तपुरको गठ्ठाघर चोक नजिकै ना. ६ ख. २१७३ नम्बरको ट्रकले बा. ३९ प. ८९४४ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक ओखलढुङ्गा चिशंखुगढी गाउँपालिका‐४ छहरे स्थायी घर भई हाल काठमाडौँ कपनमा बस्दै आउनुभएका ६५ वर्षीय उत्तम कोइरालाको मृत्यु भएको ‘फुटेज’ बाहिरिएको हो । उक्त ‘फुटेज’ हेर्दा ट्रक चालक मुख्य दोषी रहेको पाइएको छ ।
घटनास्थलबाट फरार भएका ट्रक चालक सर्लाही मलङ्गवा नगरपालिका‐२ बस्ने ३२ वर्षीय सतेन्द्र श्रेष्ठलाई बिहीबार साँझ काठमाडौँको नयाँ बानेश्वर वृत्त तीनकुनेले पक्राउ गरी प्रहरी वृत्त ठिमीको जिम्मा लगाएको छ ।
सिसिटिभी फुटेजमा यस्तो देखियो
सार्वजनिक भएको सिसिटिभी फुटेजमा कौशलटारबाट गठ्ठाघरतर्फ आउने सडकमा सवारी चेकिङ्गका लागि उभिएका ट्राफिक प्रहरी देखिन्छन् । त्यही क्रममा केही सवारीसाधन आइरहेका छन् । दुर्घटनामा परेको स्कुटर पनि आइरहेको देखिन्छ । स्कुटरले गति कम गरेसँगै तीव्रगतिमा आएको ट्रकले ट्राफिक चेकिङ अगाडि नै दायाँतर्फबाट ठक्कर दिन्छ र घिसार्दै पर लैजाँदा दुर्घटनाग्रस्त स्कुटर ट्रकको बायाँतर्फ आइपुग्छ । ट्रकको चक्कामुनि स्कुटर पर्छ ।
उद्धारका लागि सडकमा रहेका ट्राफिक प्रहरी पुग्छन् । यो दृश्यले ट्रक चालकको ठूलो लापरबाहीका कारण घटना भएको देखिन्छ । जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक राजन कार्कीका अनुसार घटना भएको समयमा अन्य दिनमा जस्तै नियमित रुपमा ट्राफिक चेकिङ भए पनि दुर्घटनाग्रस्त स्कुटर र ट्रकलाई रोकेको देखिँदैन । यसमा ट्राफिक प्रहरीको गल्ती नभएको उहाँको भनाइ छ ।
प्रहरीले सञ्चारमाध्यमलाई सूचना नदिँदा समस्या
दुर्घटना भएलगत्तै शवको दर्दनाक अवस्था देखेर आक्रोशित भीडले ट्राफिक प्रहरीको चेकिङले दुर्घटना भएको भन्दै जाइलाग्यो । ड्युटीमा खटिएका ट्राफिक प्रहरीलाई केही व्यक्तिले कुटपिट गरेको, पोशाक च्यातेर आक्रमण गरेका थिए । केही व्यक्तिले घरभित्र र होटेलभित्र पसेका ट्राफिक प्रहरीसमेतलाई बाहिर निकालेर हातपात गरेका थिए ।
ट्रकमा तोडफोड गरिएको थियो । आगजनी गर्ने तयारीसमेत भएको अवस्थामा प्रहरीले स्थिति नियन्त्रणमा लिन खोज्दा दोहोरो झडप भई स्थिति तनावग्रस्त बने पनि सञ्चारमाध्यमलाई भक्तपुर प्रहरीले कुनै जानकारी नदिँदा भ्रमपूर्ण सूचना फैलियो ।
घट्नाबारे विभिन्न सञ्चारमाध्यमले जिल्ला प्रहरी परिसर भक्तपुरका प्रमुख प्रहरी उपरीक्षक बेद विष्टलाई पटक पटक फोन गरेर जानकारी लिन खोजे । विष्टले फोन नउठाएपछि सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक राजन कार्की र ठिमी वृत्तका डिएसपीसँग पटक पटक फोन गर्दा मोबाइल नउठाएपछि कतिपय सञ्चारमाध्यमले स्थानीयको भनाइलाई आधार मान्दै समाचार सम्प्रेषण गर्न बाध्य भए । जसका कारण गलत सूचना सम्प्रेषण भयो ।
भक्तपुरमा जस्तोसुकै घटना हुँदा पनि केही महिनायता सञ्चारकर्मीको फोन प्रहरीले घटना भएको घण्टौँसम्म नउठाउँदा सूचना गलत प्रवाह हुने गरेको सञ्चारकर्मी बताउँछन् ।
सनाखतमा यसकारण चुक्यो प्रहरी
घटनामा सुरुमा प्रहरीले मृतकको गलत सनाखत गरेको थियो । ट्रकको ठक्करबाट एक युवतीको नाम दिँदै निधन भएको विवरण सञ्चारमाध्यमलाई प्रहरीले दियो । घटनास्थलमा दोलखा घर भएका शम्भु नेपालीले मृतक आफ्नो बहिनी भएको बताएपछि प्रहरीले त्यसैलाई आधार मानेर सनाखत गरेको थियो ।
सञ्चारमाध्यममा आफ्नो नाम आएपछि ती युवती आफै प्रहरीमा उपस्थित भएपछि प्रहरी थप अन्योलमा परेको थियो । प्रहरीले आफ्नो बहिनी भनेर गलत सनाखत गर्ने नेपालीलाई पक्राउ गरेर कारबाहीको तयारी गरेको छ ।
सुरुमा महिलाको शव भनेको प्रहरीले घट्नाको पाँच घण्टापछि स्कुटरमा रहेको कागजपत्रको आधारमा मृतक पुरुष भएको पहिचान गरेको थियो । सोही कागजपत्रको आधारमा मृतकका आफन्तले बिहीबार राती नै सनाखत गरेका थिए ।
प्रहरी नायब उपरीक्षक कार्कीले शव क्षतविक्षत अवस्थामा रहेकाले तत्कालै महिला वा पुरुष को हो भनेर पहिचान गर्न नसकेको बताउनुभयो । घट्नास्थलमा भएको तनावग्रस्त अवस्थामा ट्रक मुनिबाट शव झिक्न नसक्दा पनि पहिचानमा ढिलाइ भएको उहाँको भनाइ छ ।
मृतकको एउटा खुट्टा बाहेक शरीरको कुनै पनि भाग सग्लो नहुँदा सनाखतमा समस्या भएको र सिसिटिभी फुटेज हरेपछि मात्रै प्रष्टरुपमा मृतक पुरुष भएको पुष्टि भएको उहाँको भनाइ छ । प्रदर्शनकारीले प्रहरी माथि आक्रमण गरेर दोहोरो झडप भएपछि शव झिक्न नसकेपछि क्रेन ल्याएर ट्रक तानेर शव झिक्न खोजेको थियो । प्रदर्शनकारीले क्रेनसमेत ल्याउन नदिएपछि शव पहिचान गर्न ढिलाइ भएको उहाँको भनाइ छ ।
‘ट्राफिक प्रहरी माथि आक्रमण गर्नेलाई कारबाही’
भक्तपुरका प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठले घटना दुःखद् भएको बताउँदै गृहमन्त्रीको निर्देशनअनुसार छानबिन समिति गठन गरी घट्नाको सत्यतत्थ छानबिन गर्ने जानकारी दिनुभयो ।
उहाँले आज ट्रकका मालिकलाई काठमाडौँ बोलाएको र मृतकका परिवारलाई पनि सम्पर्कमा ल्याएर छलफल गर्ने बताउनुभयो । शव परीक्षणका काम अगाडि बढाउन आवश्यक पहल भइरहेको प्रजिअ श्रेष्ठले बताउनुभयो । उहाँले हिजो सञ्चारमाध्यममा आएको जस्तो ट्राफिक प्रहरीको कमजोरी नभएको बताउँदै गलत सूचना प्रवाह हुँदा समस्या भएको स्पष्ट पार्नुभयो ।
उहाँले घट्नामा ट्राफिक प्रहरीमाथि आक्रमण गर्ने, ड्युटीमा खटिएका ट्राफिक प्रहरीको पोशाक च्यातेर हातपात गर्नेलाई पक्राउ गरि कारबाही गर्ने बताउनुभयो । सत्यतथ्य नबुझी ट्राफिक प्रहरी माथि रिस साँध्न खोजिएको उहाँको भनाइ छ । रासस








प्रतिक्रिया राख्नुहोस्