सरकार जनताको अवस्था परिवर्तनको निम्ति गठन भएको हो : उपप्रधानमन्त्री सिंह

काठमाडौँ । उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले जनताको अवस्था परिवर्तनको निम्ति वर्तमान सरकार गठन भएको बताउनुभएको छ । कान्तिपुर सिटी कलेजले आज यहाँ आयोजना गरेको शैक्षिक प्रदर्शनीको उद्घाटन गर्दै उहाँले मुलुकमा व्यवस्था परिवर्तन भए पनि जनताको अवस्थामा परिवर्तन आउन नसकेको उल्लेख गर्नुभयो ।
उपप्रधानमन्त्री सिंहले जनताको अवस्थामा आमूल परिवर्तन गर्नका लागि सबैभन्दा ठूलो दल नेपाली कांग्रेस र दोस्रो ठूलो दल नेकपा ९एमाले० मिलेर संयुक्त सरकार गठन गरिएको बताउनुभयो । उहाँले देशको बारेमा नकारात्मक टिप्पणी मात्रै गर्नेभन्दा पनि प्राप्त उपलब्धिलाई संस्थागत गर्दै समृद्ध नेपालको निम्ति लाग्न सबैमा अनुरोध गर्नुभयो ।
“देशमा केही पनि भएन वा सम्भावना केही पनि छैन भन्ने होइन, मुख्य कुरा व्यवस्था नै परिवर्तन भएको छ, संविधानमा सबैको हक अधिकार सुनिश्चित भएको छ, अब देशको आर्थिक विकासलाई अगाडि बढाउँदै जनताको अवस्था परिवर्तन गर्नुपर्छ”, उपप्रधानमन्त्री सिंहले भन्नुभयो । देशभित्रै रहेको स्रोत/साधन प्रयोग गरेर रोजगारी सिर्जना गरी विदेश पलायन भएका युवालाई स्वदेश मै रोजगारको अवसर सिर्जना गर्ने सरकारको मुख्य लक्ष्य रहेको उहाँको भनाइ थियो ।
नेपाली शैक्षिक प्रणालीलाई रोजगार तथा सिपमूलक र उत्पादनमुखी बनाउनु पर्नेमा जोड दिँदै उपप्रधानमन्त्री सिंहले समग्र शिक्षा प्रणालीलाई उत्कृष्ट बनाउनका लागि ऐन÷कानुन तथा नीति परिवर्तन गर्नु परेको खण्डमा सरकार तयार रहेको बताउनुभयो ।
कार्यक्रममा पूर्वमन्त्री गणेश शाहले नेपालको शिक्षामा गुणस्तर वृद्धि गर्नका लागि पूरानै शैली वा परम्पराभन्दा पनि अध्यापन शैली नै परिवर्तन गर्नु पर्नेमा जोड दिनुभयो । रासस








प्रतिक्रिया राख्नुहोस्