तपाईँ सुन्दै हुनुहुन्छः

राजर्षिजनक विश्वविद्यालयमा मिथिलाका विभूतिहरूका सन्दर्भमा संवाद

जनकपुरधाम । राजर्षि जनक विश्वविद्यालयले मिथिलाका महान् विभूति तथा विद्वानहरूको विषयमा संवाद तथा परिचर्चाको शुरुआत गरेको छ । विश्वविद्यालयले राजर्षिजनक अध्ययन अनुसन्धान केन्द्र मार्फत मिथिलाका महान् विभूतिहरूका विषयमा यस क्षेत्रका विद्वान तथा विदुषिहरुलाई राखेर छलफल तथा विमर्श गर्ने अभियानको शुरु गरेकोमा सबै क्षेत्रबाट प्रशंसा हुन थालेको छ ।

अनुसन्धान केन्द्रले आज “राजर्षिजनक : मिथिला संस्कृति”को विषयमा संवाद गरेको छ । त्रिभुवन विश्व विद्यालयका केन्द्रीय मैथिली विभागका पूर्व प्रमुख परमेश्वर कापरले राजर्षिजनक तथा मिथिला संस्कृतिका विषयमा अनुसन्धान मूलक कार्यपत्र प्रस्तुत गर्नु भएको थियो भने कार्यपत्रमा मैथिली साहित्यकार सभाका पूर्व सभापाल प्रेम विदेह ललनले टिप्पणी गर्नु भएको थियो ।

कार्यपत्रमा मिथिलाको प्राचीनता, जनककालिन परम्परा तथा संस्कृतिका विषयमा धेरै विषय वस्तुहरू समेट्ने काम भएकाले यसले विश्व विद्यालयको एम फिलमा अध्ययनरत रहेका विद्यार्थीहरूलाई सहयोग पुग्ने विश्वास कार्यक्रमका संयोजक एवं अनुसन्धान केन्द्रका निर्देशक प्राध्यापक डा. राम खेलावन साहको रहेको छ ।

कार्यक्रममा बोल्दै राजर्षि जनक विश्व विद्यालयका उपकुलपति प्राध्यापक डा. अमर प्रसाद यादवले यस्ता प्रकारको प्राज्ञिक कार्यक्रमले ज्ञानको अभिवृद्धिका साथै मिथिलाको संस्कृति, इतिहास बुझ्न तथा विश्वलाई सूचना प्रविधिको उच्चतम प्रयोग गरेर जानकारी गराउनमा ठूलो मद्दत पुग्ने बताउनु भयो । उहाँले राजर्षिजनक तथा मिथिलाको संस्कृतिका विषयमा जान्न तथा बुझ्नका लागि नयाँ पीढीलाई मद्दत पुग्ने आशा व्यक्त गर्नु भयो ।

राजर्षिजनक अध्ययन अनुसन्धान केन्द्रका निर्देशक प्राध्यापक डा. रामखेलावन साहको अध्यक्षतामा भएको सो कार्यक्रममा भोगी झा, सहितका सहभागीहरूले मिथिला संस्कृतिको वैभवशाली इतिहास भएको बताउँदै राजर्षिजनक विश्व विद्यालयले त्यसलाई उजागर गर्न थालेकोमा खुशी व्यक्त गर्नु भयो । अगामी दिनमा पनि अष्टावक्रको विषयमा पनि परिचर्चा गरिने भएको छ ।   

प्रतिक्रिया राख्नुहोस्

Back to top button