तपाईँ सुन्दै हुनुहुन्छः

ठोरीमा बाघ आतङ्क 

वीरगंज । वीरगञ्ज ठोरी हुलाकी सडक खण्डमा आज बाघ देखिएपछि ठोरीको मालिवस्ती वरपरका क्षेत्रमा बाघ आतङ्क मच्चिएको छ । 

हुलाकी सडक अन्तरगत पर्ने मालिवस्ती नजिकै आज बाघ देखिएपछि वरपरका स्थानीयहरू त्रसित भएका हुन् । 

मालीवस्ती नजिकैको ओरिया खोला किनारमा बिहान पाटेबाघ देखिएपछि बाघ हेर्न स्थानीयको भिड नै लागेको थियो । केही दिनयता रातको समयमा सो क्षेत्र वरपर लगातार नै बाघ ओहोरदोहोर गरिरहेको मालीवस्तीकी स्थानीय गोमा उपाध्यायले बताउनुभयो । बाघ देखिएपछि हात्तीसहित नेपाली सेना ,नेपाल प्रहरी लगायतले बाघलाई नियन्त्रणमा लिन खोजेको भएपनि सफल हुन सकेन । 

ओरिया खोला वारी हुलाकी सडक किनारमा रहेको बाघ मानिसको होहल्ला भएपछि खोलापारीको काँसघारीपट्टी लागेको प्रत्यक्षदर्शीहरुले बताएका छन् । दिनदहाडै हुलाकी सडक किनारमा नै बाघ देखिन थालेपछि रातिको समयमा घरबाहिर निस्कन डर लाग्न थालेको सानोबाघमोर्चाका स्थानीय शिक्षक रन्जित कार्कीले बताउनुभयो । 

उहाँका अनुसार पछिल्लो समय बाघ आतङ्क बढ्दै गएकोले घर वरपर पनि तारजाली लगाउनुपर्ने अवस्था आइपरेको छ । ठोरीमा बाघले खोरमा नै झम्टेर गाईबस्तु खाने क्रम नरोकिरहेको बेला दिनदहाडै बाघ देखिएपछि स्थानीयमा बाघ आतङ्क नै बढेको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button