नारायणी रंगशालाको पुनर्निर्माणका लागि बजेटको व्यवस्थापन गर्न आग्रह
वीरगञ्ज । खानेपानी मन्त्री प्रदीप यादवले वीरगञ्ज स्थित नारायणी रंगशालाको जीर्णोद्धार तथा पुनर्निर्माणको लागि आवश्यक बजेटको व्यवस्थापन गर्न युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीलाई आग्रह गर्नुभएको छ ।

पर्सा क्रिकेट संघका अध्यक्ष मनिष सिंहको नेतृत्वमा आज काठमाडौँ गएको टोलीसहित युवा तथा खेलकुद मन्त्रालय पुग्नुभएका खानेपानी मन्त्री यादवले वीरगञ्जको इतिहास र पहिचानसँग जोडिएको नारायणी रंगशालाको मर्मत सम्भारका लागि खेलकुद मन्त्रालयलाई विशेष प्याकेज घोषणा गर्न आग्रह गर्नुभयो ।
उहाँले दशरथ रङ्गशालापछि देशकै ठूलो रंगशालाको रुपमा रहेको नारायणी रंगशाला अहिले पहिचान गुम्ने अवस्थामा पुगेको भन्दै मधेशमा खेलकुद क्षेत्रको विकासका लागि नारायणी रंगशालाको इतिहास कसैले बिर्सन नहुनेमा जोड दिनुभयो ।
युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले नारायणी रंगशालाको विषयमा प्रधानमन्त्री र अर्थमन्त्रीसँग छलफल गरी बजेट व्यवस्थापन गर्ने कार्यमा आफू प्रतिबद्ध रहेको बताउनुभयो ।
नेपाल क्रिकेट संघ पर्साका अध्यक्ष मनिष सिंहले रंगशालाको पुनर्निर्माणले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका खेलकुदको आयोजना गर्न सहज हुने बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्