तपाईँ सुन्दै हुनुहुन्छः

जुम्लाको सरकारी टोली धार्मिक पर्यटन क्षेत्र बडिमालिका प्रस्थान

जुम्ला ।  जुम्लाको सरकारी टोली  भगवती पूजाका लागि बाजुरा स्थित  धार्मिक पर्यटकीय क्षेत्र बडिमालिका तर्फ प्रस्थान गरेको छ । सुदूरपश्चिम प्रदेशको बाजुरा जिल्लास्थित बडिमालीका भगवती मन्दिरको पूजाआजाका लागि त्यसतर्फ जुम्लाको एक सरकारी टोली प्रस्थान गरेको हो ।

जिल्ला प्रशासन कार्यालय जुम्लाका प्रशासकीय अधिकृत मीन बहादुर रावलको नेतृत्वमा पुजारी विष्णु प्रसाद उपाध्याय  सहित दर्जनौँ भक्तजनको टोली बडिमालिका प्रस्थान गरेको छ ।

हरेक वर्ष साउन शुक्लपूर्णिमा नाग पञ्चमीका दिन तत्कालीन जुम्ला राज्य र डोटी राज्यद्वारा संयुक्त रूपमा बडिमालिकाको पूजा गर्ने प्रचलन अनुसार शुक्रबार जुम्लाको टोली बडिमालिका गएको जुम्लाको छ ।

नेपाली सेनाको एक टुकुटीले बटुक भैरवनाथ, बाबा चन्दननाथ र दरबार मालिकाको सलामी अर्पण,पाँच वटा सलामी, ब्यान्डबाजा र बिगुल फुकेर पूजाको डोली सहित बडिमालिका हिँडेको टोलीलाई भव्य बिदाइ गरिएको प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेले बताउनुभयो ।

उहाँका अनुसार परम्परादेखि नै हरेक नाग पञ्चमीका दिन जुम्लाको सरकारी टोली पूजाका लागि बडिमालिका जाने चलन रहेको छ । डोटी बाजुराको टोली बडिमालिका आउने र जुम्लाको टोली बडिमालीका पुगेर संयुक्त पूजा गर्ने प्रचलन छ ।

नेपाली सेनाको सलामीसहित टोलीलाई जुम्लाका सयौँ भक्तजन, सरकारी तथा गैससका प्रतिनिधिहरूले फूलमाला अबिर सहित बिदाइ गरेका छन् ।

प्रजिअ घिमिरेले बडीमालिका जाने टोली सुरक्षार्थ सिमावर्ती जिल्ला प्रशासन र प्रहरी कार्यालय सँग समन्वय गरी सुरक्षा व्यवस्था मजबुद बनाइएको जानकारी दिनुभयो ।

जुम्लाका संस्कृति सम्बन्धी जानकार व्यक्ति चित्रलाल श्रेष्ठका अनुसार जिल्ला प्रशासन कार्यालयको तर्फबाट सुनको टीका, बिनायो, चाँदीको काँगियो, छत्र, मुरुली गरी ५ वटा पूजाका सामानहरू (पेटारो) नामक झोलीमा राखेर बडिमालिका मन्दिरमा पूजाका लागि पठाउने गरिन्छ ।

बाडिमालिकाको टोली पुगेपछि जुम्लामा जात्रा लाग्ने चलन छ । उहाँले भन्नुभयो, करिब साढे तीन सय वर्ष पहिलादेखि बडिमालिका जाने चलन चलिरहेको छ । बडिमालिका क्षेत्रमा पुगेपछि दुवै जिल्लाकाले गजुरका लागि लडाई गर्छन् । त्यसपछि गाथमा पुगेर फर्किन्छन् । बडिमालिकाबाट टोली १७ दिनपछि जुम्ला पुग्छन् ।

यतिबेला बडिमालिका क्षेत्रमा हजारौँ पर्यटक पुग्छन् । साउन पूर्णिमाको बेला बडिमालिका क्षेत्रमा पर्यटकको बाक्लो भिड लागेपनि पूर्वाधार विकास नहुँदा समस्या हुने गरेको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button