तपाईँ सुन्दै हुनुहुन्छः

ढुङ्गा सहितको पहिरोले कर्णाली राजमार्ग अवरुद्ध

जुम्ला । अविरल वर्षाका कारण आएको पहिरोले कर्णाली राजमार्ग अवरुद्ध भएको छ । हिजो राती देखि लगातार परेको अविरल वर्षापछि आएको पहिरोले कर्णाली राजमार्ग बिहानैदेखि अवरुद्ध भएको छ । 

कालीकोटको शुभ कालिका गाउँपालिका –१ गगनलेखोला,एसमोड,कालेखोला लगायतका स्थापनामा साना ठुला पहिरो जाँदा राजमार्ग अवरुद्ध भएको छ । 

बिहानैदेखि राजमार्ग अवरुद्ध भएपछि जुम्ला मुगुबाट सुर्खेत,नेपालगन्ज काठमाडौँ जाने यात्रु बाहक तथा मालवाहक गरी सयौँ सवारी तथा यात्रुहरू अलपत्र परेका छन् । 

गगनेखोलामा ठुलो ढुङ्गा सहितको लेदो माटोको पहिरो आउँदा सडक अवरुद्ध भएको र बिहानैदेखि पहिरो पन्छाउने कार्य जारी रहेको सडक डिभिजन जुम्लाका सूचना अधिकारी वीर बहादुर जीटिले बताउनुभयो । 

उहाँले भन्नुभयो,‘सबैभन्दा ठुलो ढुङ्गा सहितको पहिरो गगने खोलामा आएको छ । ४÷५ किमीको दुरीमा अन्य स्थानमा पनि पहिरो गएको बुझिएको छ । गगने खोलाको ढुङ्गालाई पन्छाउने र सम्भव नभए ब्रेकर लगाएर फुटाल्ने तयारी छ ।’

गगनेखोला बाहेक अन्य स्थानमा गाह्रो नभएको र पहिरो पन्छाउने बेला सम्म धैर्य गरिदिन समेत सूचना अधिकारी जीटिले सबै यात्रुलाई आग्रह गरेका छन् । 

सडक डिभिजनको मेसिन सहित जनशक्ति बिहानै ६ बजे देखी पहिरो पन्छाउन जुटेका छन् । यद्यपि,ढुङ्गा ठुलो नै भएकोले पहिरो पन्छाउन भने समय लाग्ने देखिएको छ । 

गोगने खोलाको माथिबाट पहिरो आउँदा सडक अवरुद्ध भएपछि अहिले राजमार्ग ठप्प छ । कालिकोटबाट सुर्खेत जाने यातायातका साधनलाई प्रहरीले हुल्मबजारमा रोकेको छ । 

दैलेख प्रहरीले राकम कर्णालीमै यातायातका साधन रोकेको छ । यात्रुलाई खान बस्न समस्या नहुने भनी बजार क्षेत्रमै यात्रुलाई रोकेको प्रहरीले बताउनु भएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button