डेङ्गु परीक्षणका लागि रु छ सय सीमा शुल्क
दमौली (तनहुँ) । तनहुँको व्यास नगरपालिकाले डेङ्गु परीक्षणका लागि बढीमा रु छ सय मात्र शुल्क लिन निजी अस्पताललाई निर्देशन दिएको छ । नगरपालिकाले नगरभित्रका सबै निजी अस्पताल, स्वास्थ्य क्लिनिक, निजी प्रयोगशालालाई डेङ्गु परीक्षणका लागि बढीमा रु छ सय शुल्क लिन निर्देशन दिएको हो ।
प्रादेशिक डेङ्गु रोकथाम तथा नियन्त्रण निर्देशक समिति गण्डकी प्रदेशको गत असार २७ गते बसेको बैठकले सम्पूर्ण प्रयोगशालाका लागि डेङ्गुको द्रुत परीक्षणको शुल्क निर्धारण गरेको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख प्रमोद सोतीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “तोकिएको भन्दा बढी शुल्क लिएको पाइए कानुनबमोजिम कारबाही हुनेछ ।”
पछिल्लो समय डेङ्गु सङ्क्रमणको जोखिम बढेकाले नगरपालिकाले सचेत रहन आग्रह गरेको छ । नगरपालिकाले डेङ्गु नियन्त्रणका लागि विद्यालय स्तरमा अभिमुखीकरण कार्यक्रम सुरु गरेको छ । गत आर्थिक वर्षमा नगरपालिका डेङ्गुले ग्रस्त भएपछि नगरपालिकाले यसपटक विद्यालय स्तरमा अभिमुखीकरण थालेको हो ।
वर्षायाम सुरु भएसँगै चालु आर्थिक वर्षमा डेङ्गु रोगका सङ्क्रमित देखिन सुरु भइसकेको र समयमै रोकथाम गर्न नसके पुनः महामारी फैलन सक्ने सम्भावना भएको हुँदा डेङ्गु नियन्त्रणका लागि सबै वडाका निजी तथा सामुदायिक विद्यालयमा अभिमुखीकरण गर्न निर्देशन दिइएको सोतीले बताउनुभयो । उहाँले भन्नुभयो, “स्वास्थ्य शाखाका कर्मचारीले विद्यालय स्तरमा पुगेर विद्यार्थीलाई यस रोगका बारेमा सचेतनामूलक कार्यक्रम गरिरहेका छन् ।”








प्रतिक्रिया राख्नुहोस्