बन्द भएको सात महिनापछि भोजपुर अस्पतालमा पुन सेवा शुरु

भोजपुर । कर्मचारी अभावमा भोजपुरमा रहेको एक मात्र जिल्ला अस्पतालमा गत श्रावण महिनाबाट बन्द भएकोे शल्यक्रियाबाट गरिने प्रसुती सेवा सात महिनापछि पुन सुचारु भएको छ ।
बिहिवार राती एक गर्भवती महिलाको शल्यक्रिया गरी बच्चा निकालिएको थियो । जिल्ला अस्पतालमा कार्यरत एनेस्थेटिक सहायक सुरेश थापा कर्मचारी समायोजन ऐन अनुसार सरुवा भएर ५ नम्वर प्रदेशमा गएपछि गत श्रावण १९ गतेबाट सेवा बन्द गरिएको थियो ।
जिल्ला अस्पतालबाट सेवा नपाइने भएपछि प्रसुती सेवाका लागि गभर्वती महिलाहरुलाई सुबिधा सम्पन्न अस्पतालहरुमा जानु पर्ने बाध्यता थियो ।
स्वास्थ्य जस्तो संवेदनशील बिषयमा कर्मचारी सरुवा हुदाँ सेवा बन्द गर्नु पर्ने अवस्था दुर्भाग्य भएको बताउँदै जिल्ला अस्पताल प्रमुख डाक्टर पवित्रा श्रेष्ठले पुन सेवा शुरु भएकाले अबका दिनमा गर्भवती आमाहरुलाई राहत मिल्ने बताउनुभयो ।
जिल्ला अस्पतालमा हाल शल्यक्रियाका लागि एमडिजिपी डाक्टर अमितेशराज पाण्डे आएका छन् भने अस्पतालमा कार्यरत डाक्टर कैलाश बिकले एनेस्थेटिक सेवाका लागि तालिम लिएर आएकाले अब सेवा नियमित सुचारु हुने जिल्ला अस्पतालले जनाएको छ ।
जिल्ला अस्पतालका सुचना अधिकारी राजेन्द्र राउतले कर्मचारी समायोजनका कारण देखिएको समस्या लामो प्रयास पश्चात समाधान गरिएकाले अब सेवा नियमित हुने बताउनुभयो ।
जिल्ला कै मुख्यमन्त्री, राष्ट्रपति, सांसद, नेता हुदाँ पनि जिल्ला अस्पतालको सेवा शुरु गर्न यत्रो समय लागेको बताउँदै जिल्लावासी सिता कार्कीले अब सेवा नियमित हुने गरी स्वास्थ्यकर्मीलाई टिकाई राख्नु सबैको दायित्व भएको बताउनुभयो ।
भोजपुरमा शल्यक्रियाबाट गरिने प्रसुती सेवा २०६७ सालबाट शुरु भएको भए पनि स्वास्थ्यकर्मीका कारणबीच बीचमा बन्द हुने गरेको छ ।








प्रतिक्रिया राख्नुहोस्