मुलुक र जनताप्रति जिम्मेवार भएर काम गर्नुपर्छ : मन्त्री खड्का
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले मुलुक र जनताप्रति जिम्मेवार भएर काम गर्नुपर्ने बताउनुभएको छ ।
नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री पूर्णबहादुर तामाङको स्वागतमा आज मन्त्रालयमा आयोजित कार्यक्रममा मन्त्री खड्काले सरकार सञ्चालनको दायित्वसँगै जनतालाई अनुभूत हुने गरी काम गर्नुपर्ने बताउनुभयो ।
ऊर्जा मन्त्री खड्काले दुई ठूला राजनीतिक दल मिलेर स्थायी सरकार बनेकाले अव जनताले परिवर्तन भएको अनुभूति लिने गरी काम गर्नुपर्ने उल्लेख गर्नुभयो । उहाँले मुलुकको आवश्यकतालाई विश्लेषण गरेर अगाडि बढ्नुपर्ने बताउनुभयो ।
नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री पूर्णबहादुर तामाङले ऊर्जा र सिँचाइ क्षेत्रको विकासका लागि योजना बनाएर अगाडि बढ्नुपर्ने बताउनुभयो । उहाँले वर्षायाम सुरु भएकाले देशैभर बाढी र पहिरो जाने भएकाले त्यसको अध्ययन आवश्यक रहेको उल्लेख गर्नुभयो ।
मन्त्रालयका सचिवद्वय गोपालप्रसाद सिग्देल र सरिता दवाडीले मुलुकलाई समृद्ध बनाउन सक्ने क्षेत्र ऊर्जा र सिँचाइ भएकाले यसको विकासमा लाग्नुपर्नेमा जोड दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्