कास्कीमा गत बर्ष ६ सय ४९ वटा मात्र उद्योग दर्ता

पोखरा । कास्कीमा गत आर्थिक बर्ष २०८०/०८१ मा ६ सय ४९ वटा नयाँ उद्योगहरू दर्ता भएका छन्। पर्यटन तथा उद्योग कार्यालय कास्कीमा गत बर्ष विभिन्न उद्योगहरूमा गरी उक्त सङ्ख्यामा नयाँ उद्योग दर्ता भएको कार्यालय प्रमुख महराज ढकालले बताउनु भयो ।
कास्कीमा गत बर्ष उत्पादनमूलक तर्फ ८३ वटा अघिल्लो बर्ष भने कास्कीमा १ सय ३५ वटा नयाँ उद्योग दर्ता भएको थियो । अघिल्लो वर्षको तुलनामा गत बर्ष कास्कीमा उत्पादन मूलक ५२ वटा कम उद्योग कार्यालयमा दर्ता भए । त्यसै गरी कृषि तथा वन पैदावारमा आधारित गत वर्षमा १ सय ६२ वटा तर अघिल्लो वर्षमा कास्कीमा भने ३ सय १७ अर्थात् गत बर्ष अघिल्लो वर्षको तुलनामा १ सय ५७ वटा कम उद्योग दर्ता भएका छन्।
पर्यटनको राजधानी भएको कास्कीमा गत बर्ष पर्यटनमूलक तर्फ १ सय ६० वटा अघिल्लो वर्षमा यसको सङ्ख्या ३ सय ३८ रहेको थियो । अघिल्लो वर्षको तुलना गर्दा गत बर्ष कास्कीमा पर्यटनमूलक तर्फको १ सय ७८ वटा कम उद्योग दर्ता भए । सेवामूलक उद्योग तर्फ कास्कीमा गत बर्ष २ सय ४१ वटा दर्ता भएका थिए भने अघिल्लो वर्षमा १ सय ९८ मात्र दर्ता भएका थिए । अन्य उद्योगमा कमी आएको सन्दर्भमा भने कास्कीमा अघिल्लो वर्षको तुलनामा कास्कीमा गत बर्ष भने ४३ वटा बढी सेवामूलक उद्योग दर्ता भएको कार्यालय प्रमुख ढकालले जनाउनु भयो ।
सूचना प्रविधिमा आधारित कास्कीमा गत बर्ष ३ र अघिल्लो वर्षमा भने ७ वटा उद्योग दर्ता भएका थिए । कास्कीमा ऊर्जामूलक र खनिज उद्योग दर्ता भएका छैन । कास्कीमा गत वर्षमा १ हजार ७ सय ९५ वटा उद्योगको नवीकरण भएको थियो भने ३ सय ६५ वटा उद्योगको लगत कट्टा गरिएको थियो । उद्योग तर्फबाट गत बर्ष ७१ लख ८९ हजार ३ सय ४० रुपैयाँ राजश्व सङ्कलन गर्न सफल भएको छ । गत बर्ष कार्यालयले वाणिज्य तर्फ भने ८७ लाख ८६ हजार ९ सय रुपैयाँ राजश्व सङ्कलन गरेको छ ।
अघिल्लो बर्ष २०७९/०८० मा कास्कीमा ९ सय ९५ वटा उद्योगहरू दर्ता भएका थिए भने आर्थिक बर्ष २०७८/०७९ मा कास्कीमा २ हजार ३ सय ६५ वटा उद्योग दर्ता भएको उहाँले जनाउनु भयो । कास्कीमा हालसम्म २४ हजार २ सय ७८ वटा उद्योग दर्ता भएका छन् भने यस क्षेत्रमा करिब २६ अर्ब ७५ करोड ६५ लाख ९१ हजार कुल पुँजी लगानी भएको कार्यालयले जनाएको छ । ७७ हजार ७ सय १३ जनाले रोजगार प्राप्त गरेको कार्यालय प्रमुख ढकालले जनाउनु भयो । त्यसै गरी कास्कीमा वाणिज्य तर्फ भने गत बर्ष १ हजार १ सय ९३ वटा दर्ता भएका छन् भने हालसम्म १० हजार १ सय ७० वटा उद्योग दर्ता भएका छन् ।








प्रतिक्रिया राख्नुहोस्