बङ्गलादेशबाट काँकडभिट्टा नाका हुँदै नेपाल भित्रिने नेपाली विद्यार्थीको सङ्ख्या बढ्दै

भद्रपुर, झापा। हिंसात्मक आन्दोलन चर्किएपछि बङ्गलादेशबाट पूर्वीनाका काँकडभिट्टा हुँदै नेपाल भित्रिने नेपाली विद्यार्थीको सङ्ख्या बढ्दै गएको छ ।
पछिल्लो तीन दिनमा ३४० जना नेपाली विद्यार्थी काँकडभिट्टा नाकाबाट नेपाल भित्रिएकोमा हिजो आइतबार एकैदिन दुई सयभन्दा बढी विद्यार्थी बङ्गलादेशबाट फर्किएका छन् ।
अध्यागमन कार्यालय काँकडभिट्टाका प्रमुख मोहन पनेरुले हिजो दुई सय विद्यार्थी काँकडभिट्टा नाका भएर नेपाल फर्किएको जानकारी दिनु भयो । पछिल्लो एक हप्तामा सातसयजति नेपाली विद्यार्थी काँकडभिट्टा नाकाबाट नेपाल फर्किएको उहाँले बताउनु भयो ।
चिकित्सा शिक्षा अध्ययनका लागि हजारौँ नेपाली विद्यार्थी बङ्गलादेशमा रहँदै आएका छन् । केही समययता बङ्गलादेशमा सरकारी जागिरमा आरक्षण धेरै भएको भन्दै चलेको विद्यार्थी आन्दोलनले उग्ररुप लिएपछि नेपाली विद्यार्थी धमाधम नेपाल फर्किन थालेका हुन् ।
काँकडभिट्टा आइपुगेका नेपाली विद्यार्थीलाई जतिसक्दो चाँडो अध्यागमन प्रक्रिया पूरा गरेर घर पठाउने गरिएको पनि पनेरुले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्