तपाईँ सुन्दै हुनुहुन्छः

राहदानीबाट रु ६ करोड भन्दाबढी राजस्व सङ्कलन

गुल्मी । जिल्ला प्रशासन कार्यालय गुल्मीले आर्थिक वर्ष २०८०र ८१ मा राहदानीबाट मात्र रु ६ करोडभन्दा बढीको राजस्व सङ्कलन गरेको छ ।

प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले सबैभन्दा बढी राजस्व राहदानीबाट सङ्कलन भएको जानकारी दिनुभयो । १२ हजार चार सय ५० राहदानी वितरण गर्दा सो आवमा २०८०/८१ मा ६ करोड ३३ लाख रुपैयाँ सङ्कलन भएको हो । गत आवमा राहदानीबाट सात करोड भन्दा बढी रकम सङ्कलन भएको थियो । 

कार्यालयबाट आव २०८०र८१ मा पाँच हजार सात सय ३६ नागरिकताको प्रतिलिपि, ४८  गैरआवासीय नागरिकता र १२ हजार दुई सय ७३ राहदानी सिफारिस गरिएको छ । यसैगरी सात सय ६६ नाबालक परिचयपत्र, १६ हजार आठ सय ४४ राष्ट्रिय परिचयपत्र विवरण दर्ता र एक हजार नौ सय राष्ट्रिय परिचयपत्र वितरण गरिएको प्रजिअशर्माले बताउनुभयो । 

जिल्ला प्रशासनमा सोही आवमा २८  मुद्दा दर्ता भएकोमा २३ फछ्र्यौट भएका छन् । त्यसैगरी ७८  ठाडो उजुरी, एक हजार एक सय ४४ नाता प्रमाणित, २६  संस्था, एक सय ७९  संस्था नवीकरण, ७४ हातहतियार नवीकरण, चार सय ५३ दलित, चार सय ९२ जनजाति र ६६  आय विवरण प्रमाणित गरिएको छ ।

प्रशासनले नागरिक मैत्री सेवा प्रवाहका लागि कार्यालयमा राहदानी र नागरिकताको लागि विद्युतीय टोकन, ज्येष्ठ नागरिक विश्रामस्थल, बजार अनुगमन, विकास निर्माणमा सहजीकरण, विपद्मा तत्काल राहत वितरण, ज्येष्ठ नागरिक एवं अपाङ्गता भएका सेवाग्राहीलाई पहिलो प्राथमिकता दिएको जनाएको छ । 

त्यसैगरी जिल्लाका १२ वटै स्थानीय तहमा गएर नागरिकलाई सेवा प्रवाहसम्बन्धी अभिमुखीकरण, लागू औषध नियन्त्रण, कारागार सुधार लगायतका काम गर्दै आएको प्रजिअ शर्माले बताउनुभयो । 

नागरिकलाई सेवा प्रवाह गर्ने काममा जिल्ला प्रशासन कार्यालयले खेलेको भूमिका सराहनीय रहेको जनाउँदै राजनीतिक दलका प्रतिनिधिले प्रमुख जिल्ला अधिकारीलाई धन्यवाद व्यक्त गर्नुभएको थियो । उहाँहरूले आगामी दिनमा पनि सेवा प्रवाहलाई थप प्रभावकारी बनाउँदै लैजानुपर्नेमा सुझाव दिनुभएको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button