तपाईँ सुन्दै हुनुहुन्छः

बैंककमा भानुजयन्ती

काठमाडौँ । भानु जयन्तीका अवसरमा थाइल्याण्डमा रहेका नेपाली र नेपाली भाषीका सङ्घसंस्थाहरूको सहभागितामा आज एक कार्यक्रम आयोजना गरियो ।

त्यस अवसरमा राजदूत धनबहादुर वलीले नेपाली भाषा संस्कृतिको संरक्षण र संवर्द्धनलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभयो । उहाँले नेपाली मूलका तथा विदेशमा रहेका नेपाली नागरिकका सन्ततिलाई नेपाली भाषा साहित्यका बारेमा जानकारी दिन, भाषा सिकाइ तथा प्रशिक्षणमा प्रोत्साहित गर्न यस वर्षदेखि भानु जयन्तीका अवसरमा सबै नेपाली तथा नेपाली भाषी सङ्घसंस्थासँगको सहकार्यमा भाषा साहित्य कार्यक्रम विशेष रूपमा आयोजना गर्नु उपयुक्त हुने र सो कामका लागि राजदूतावासबाट सधैँ सहयोग हुने प्रतिबद्धता व्यक्त हुनुभयो ।

गैरआवासीय नेपाली सङ्घ थाइल्यान्डका अध्यक्ष भविन्द्र बस्नेत, थाई नेपाली सङ्घका अध्यक्ष लक्ष्मण केसी, भाषा साहित्य संस्थाका प्रतिनिधि तथा बाल साहित्यकार र कलाकारको सहभागिता रहेको उक्त कार्यक्रममा राजदूतावासका नियोग उपप्रमुख प्रकाश अधिकारीले समापन मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा २५ जना साहित्यकारले आफ्ना रचना प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा बाल साहित्यकारलाई नेपाली भाषासम्बन्धी पुस्तक वितरण गरिएको थियो ।

विश्वयुद्धपछि थाइल्याण्डको पिलोकमा बसोबास गरेका गोर्खा भर्तीका नेपाली तथा म्यान्माबाट विभिन्न समयमा बसाइँसरी थाइल्याण्ड गएका विभिन्न कालखण्डमा नेपाल, भारत, भुटानलगायत मुलुकबाट थाइल्याण्ड आई बसोबास गरेका नेपाली मूलका थाई नागरिकहरू, हाल थाइल्याण्डमा काम गरी बसेका नेपाली मूलका म्यान्माका नागरिकको उल्लेख्य सङ्ख्यामा नेपाली भाषीहरूको थाइल्याण्डमा बसोबास छ ।

लामो समयदेखि नेपालबाट अध्ययन, अध्यापन, व्यवसाय तथा संयुक्त राष्ट्रसङ्घलगायत अन्तर्राष्ट्रिय सङ्घसंस्थामा कार्यरत नेपाली छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button