तपाईँ सुन्दै हुनुहुन्छः

विपत्तिको घाउ: ‘ज्यान बच्यो, अन्नपात जोगिएन’

कञ्चनपुर । जिल्लामा गत साताको अविरल वर्षापछि आएको बाढीका कारण डुबानमा परी विस्थापित भएका परिवार घर फर्किएका छन् । 

अधिकांश घरका अन्न र लुगाकपडा सबै भिजेको छ, कतिपयको अन्नपात बाढीले बगाएको छ। अहिले यहाँका बाढी प्रभावितलाई खानलाउन समस्या भएको छ । महाकालीपारि दोधारा चाँदनी नगरपालिकाका चार वडामा जोगबुडा नदीको बाढी पसेको थियो । दोधारा चाँदनी–८, ९, १० र ३ का बासिन्दा सबैभन्दा बढी समस्यामा परेका छन् ।

घरभित्रका कपडा कति बगेर गए कति माटोमा च्यापिएको पीडितहरू बताउँछन् । स्थानीय मङ्गले सार्कीले बाढीले घरभित्र भएको अन्न लत्ताकपडा बाढीले बगाएपछि साँझ बिहानको छाक टार्ने मुस्किल परेको बताउनुभयो । “भाँडाकुँडा अन्नपात र लत्ताकपडा सबै बगाइदियो साँझ बिहान के खाने तीन दिन भयो केही खाएका छैनौँ”, उहाँले भन्नुभयो, “खेत पनि लेदोले पुरेको छ । यस्तो अवस्थामा पनि राज्यबाट कुनै सहयोग पाएका छैनौँ ।”

दोधारा चाँदनीका चम्पा सार्कीको घर बाढीले भत्काएको छ। बाढीले घर भत्काएपछि खुला आकाशमा पालको साहारा बस्नुपरेको उहाँले बताउनुभयो । “बाढीले केही राखेन अन्नपात, लत्ताकपडा सबै बगाइदियो”, उहाँले भन्नुभयो, “दराज र सोफा लेदोले पुरिएको थियो । घरभित्र रहेको सुन र केही नगद बाढीले लगेको छ ।” 

टापुको बस्ती कुतियाकभरमा पनि बाढीले ठूलो नोक्सानी गरेको छ। बाढीले केही घर पूर्ण रुपमा क्षति भएका छन् । सामान्य क्षति भएका घरका सबै फर्किसकेका छन्। घर भत्केका परिवारका सदस्य कोही आफन्तकामा छन् भने कोही नेपाली सेनाले निर्माण गरेको सेफ हाउसमा छन् । 

रातिको समयमा अचानक बाढी बस्तीमा पसेपछि ज्यान जोगाउनै मुस्किल भएको लक्ष्मी सुनारले बताउनुभयो । “राति १ बजेतिर प्रहरी आएर हामीलाई उद्धार गरेका हुन्”, उहाँले भन्नुभयो, “ज्यान त जोगायो अन्न र पशुचौपाया जोगाउन सकिएन ।” उहाँले बाढीले अन्न र लुगाकपडा सबै बगाएपछि खानलाउन समस्या भएको बताउनुभयो। 

बाढी र डुबानले दोधारा चाँदनी नगरपालिका, भीमदत्त नगरपालिका, बेलडाँडी गाउँपालिका र बेलौरी नगरपालिकामा ठूलो सङ्ख्यामा नागरिक विस्थापित भएका थिए। उक्त क्षेत्रमा पूरै लेदोले भरिएर खेतबारी ढाकिएका छन्। जिल्लाको दक्षिणी क्षेत्र बेलौरी नगरपालिकाको कलकत्ता र भुँडामा पनि डुबानका कारण ठूलो क्षति भएको छ । जिल्लाभरिमा अहिले क्षतिको विवरण सङ्कलन भइरहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button