राप्ती नदीको बाढी खतराको तह भन्दा माथि, गाउँमा पानी पस्न थाल्यो

नेपालगञ्ज । निरन्तरको वर्षा पछि राप्ति नदीमा आएको बाढीले खतराको तह पार गरेको छ ।
बाँकेको राप्ती नदीको कुसुम जल मापन केन्द्रमा अहिले ७.१० मिटर पानीको सतह मापन गरिएको छ । पानीको सतह बढ्दो क्रममा रहेकाले नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरिएको छ ।
नदी तटीय क्षेत्रका बासिन्दालाई एसएमएसमार्फत सतर्क बनाइएको जिल्ला आपतकालीन कार्यसञ्चालन केन्द्रले जनाएको छ । नदी आसपासका बासिन्दालाई सतर्कता अपनाउनुका साथै नदीमा माछा मार्ने, नुहाउने, ओहोरदोहोर गर्ने, दाउरा सङ्कलन गर्ने जस्ता नगर्न आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजालले बताउनुभयो । डुबानको जोखिम बढेकाले उद्धारका लागि सुरक्षाकर्मीलाई तयारी अवस्थामा राखिएको प्रजिअ रिजालले बताउनुभयो । राप्ती नदीको माथिल्लो तटीय क्षेत्रमा भारी वर्षा भइरहेकाले पानी सतह बढ्दै जाने देखिएको छ ।
रापतीको कुसुमस्थित जल मापन केन्द्रमा पानीको सतह ६ मिटरमाथि भएमा सतर्कता तह र ७ मिटर पार गरेमा खतराको तह मानिन्छ । राप्ती नदीमा पानीले खतराको तह पार गरे राप्तीसोनारी गाउँपालिकाको बैजापुर, बिनौना, फत्तेपुर, डुडुवा गाउँपालिकाको होलिया, चौफेरी, बेतहनी, कम्दी तथा नरैनापुरको गंगापुर, कुदरबेटवा, सोनबर्षा लगायत क्षेत्र डुबानमा पर्ने गरेका छन् । यसैबीच राप्तीसोनारी गाउँपालिका वडा नम्बर १ का विभिन्न गाउँमा बाढी पस्न थालेको स्थानीयले बताएका छन् । बाघखोर गाउँका केही घरमा रापतीको पानी पसेको बताइएको छ ।








प्रतिक्रिया राख्नुहोस्