तपाईँ सुन्दै हुनुहुन्छः

जुम्लाका आठै पालिकाले ल्याए नीति र बजेट

जुम्ला।जुम्ला जुम्लाका आठै पालिकाले नयाँ आर्थिक वर्ष ०८१/०८२ का लागि नीति तथा कार्यक्रम ल्याएका छन् । यहाँका एक नगरपालिका र सात गाउँपालिकाले बजेटसहित नीति तथा कार्यक्रम ल्याएका हुन् ।

स्थानीय तहले असार १० गते अनिवार्य नीति तथा कार्यक्रम र बजेट ल्याउने राज्यको नीति रहेको छ । सोही बमोजिम यहाँका आठै स्थानीय तहले नीति तथा कार्यक्रम र बजेट ल्याएका हुन् ।

चन्दननाथ नगरपालिकाले नीति तथा कार्यक्रमसहित ६७ करोड १० लाख ३४ हजार १०९ रुपियाँको बजेट ल्याएको छ । नगरपालिका उपप्रमुख रामदेवि खड्काले १३ औँ नगर सभामा आगामी आर्थिक वर्ष ०८१/०८२ का लागि बजेट प्रस्तुत गरेकी हुन् ।

सिंजा गाउँपालिकाको आगामी आर्थिक वर्षका लागि ४१ करोड २१ लाख ५६ हजार रुपियाँ बजेट ल्याएको पालिका अध्यक्ष पूर्णप्रसाद धितालले बताउनुभयो । यता तातोपानी गाउँपालिकाको आगामी आर्थिक वर्षका लागि ४९ करोड ४० लाख एक हजार ८७९ रुपियाँ बजेट ल्याएको गाउँपालिका उपाध्यक्ष रेवती रावलले बताउनुभयो । विशेष गरी शिक्षा स्वास्थ्य कृषि, उद्योग, ग्रामीण सडक निर्माणमा प्राथमिकता राखेर बजेट ल्याएको गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाईले उल्लेख गर्नुभयो ।

पुराना नीति तथा कार्यक्रमलाई यथावत् राखेर महिला र दलितलाई लोकसेवा तयारी कक्षा, सय भन्दा बढी भेडा पाल्नेलाई गोठालो भत्ता, एकल पुरुष भत्ता, कृषि बीमा, महिला स्वास्थ्य स्वयम सेविका सञ्चार सुविधा, अन्तरजातीय विवाह प्रोत्साहनसहित नीति तथा कार्यक्रम समेटिएको छ । सोही नीति तथा कार्यक्रम बमोजिम बजेट ल्याएको प्रमुख प्रशासकीय अधिकृत तिर्थ कठायतले बताउनुभयो ।

तिला गाउँपालिकाको आगामी आर्थिक वर्षका लागि ४७ करोड ८४ लाख २० हजार रुपियाँ बजेट ल्याएको गाउँपालिका अध्यक्ष मोतिलाल रोकायाले जानकारी दिनुभयो। हिमा गाउँपालिकाको आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रमसहित ४९ करोड ४१ लाख ९० हजार रुपियाँ बजेट ल्याएको सूचना अधिकारी रतन रावतले जानकारी दिनुभयो ।

कनकासुन्दरी गाउँपालिकाको आगामी आर्थिक वर्षका लागि ५१ करोड २ लाख २५ हजार ६ सय ४६ रुपियाँको बजेट ल्याएको छ । विशेष गरी शिक्षालाई प्रथामिकतामा राखेर नयाँ बजेट ल्याएको गाउँपालिका अध्यक्ष दामोदर आचार्यले बताउनुभयो ।
पातारासी गाउँपालिकाको आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रमसहित ४४ करोड ४९ लाख ६० हजार रुपियाँ बजेट ल्याएको उपाध्यक्ष जनमाया रोकायाले बताउनुभयो ।

गुठीचौर गाउँपालिकाको आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रमसहित गत वर्षको एक करोड १३ लाख सहित ४१ करोड १० लाख ४९ हजार रुपियाँ बजेट ल्याएको गाउँपालिका प्रबक्त अर्जुन महताराले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button