दूधको बक्यौता रकम तत्काल भुक्तानी पाउने व्यवस्था मिलाउन माग

भद्रपुर, झापा । झापाका दुग्ध किसानहरूले बक्यौता रकम तत्काल भुक्तानी पाउने व्यवस्था मिलाउन माग गर्दै सरकारलाई ज्ञापनपत्र बुझाएका छन् ।
नेपाल किसान महासङ्घ झापाका अध्यक्ष रतन थिङवालोको नेतृत्वमा पीडित दुग्ध किसानहरुले आज जिल्ला प्रशासन कार्यालय झापामार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका हुन् ।
महासङ्घले जिल्ला प्रशासन कार्यालय झापाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बाँस्तोलालाई ज्ञापनपत्र हस्तान्तरण गर्दै प्रधानमन्त्रीसम्म पुर्याइदिन आग्रह गरेको छ ।
विभिन्न ११ सूत्रीय माग राखेर बुझाइएको ज्ञापनपत्रमा नेपाली किसानले उत्पादन गरेको सबै दूध खरिद गरी मिल्क होलिडेको अन्त्य गरिनुपर्ने, उत्पादनका आधारमा दिइँदै आएको अनुदान कार्यक्रम पुनः सञ्चालनमा ल्याइनुपर्ने, सहुलियत कृषि ऋण र पशु विमा अनुदान कार्यक्रम परिणाममुखी बनाइनुपर्ने, कृषि विमामा सरकारका तर्फबाट दिइने अनुदान तत्काल उपलब्ध गराएर किसानलाई विमावापतको रकम पाउने अवस्था सिर्जना गर्न माग गरिएको छ ।
त्यस्तै, नेपाललाई खोरेँत रोगमुक्त देश घोषणा गरी अन्तर्राष्ट्रिय बजारमा नेपाली उत्पादन पुर्याउनुपर्ने, दुग्धजन्य पदार्थको आयात रोकेर आत्मनिर्भर बनाउन पहल गर्नुपर्ने, पाउडर दूध उत्पादन केन्द्रलाई पूर्ण क्षमतामा सञ्चालन गर्नुपर्ने, नेपालको आन्तरिक खपत आन्तरिक उत्पादनबाटै गर्ने व्यवस्था गर्नुपर्ने, लम्पी स्किन रोगबाट पशुको क्षति व्यहोरेका किसानलाई तत्काल अनुदान दिइनुपर्नेसमेत ज्ञापनपत्रमा माग गरिएको छ ।








प्रतिक्रिया राख्नुहोस्