तपाईँ सुन्दै हुनुहुन्छः

मङ्गलसेन नगरपालिकामा स्वचालित मौसम मापन केन्द्र स्थापना

अछाम । अछामको मङ्गलसेन नगरपालिकामा स्वचालित मौसम मापन केन्द्र स्थापना गरिएको छ । मङ्गलसेन नगरपालिका, त्रिभुवन विश्व विद्यालय जल तथा मौसम केन्द्रीय विभाग कीर्तिपुर काठमाडौँको समन्वयमा केन्द्रको स्थापना गरिएको हो ।

यस क्षेत्रका नागरिकहरूलाई जलवायु तथा विपद्का सूचनाहरू समयमै उपलब्ध गराउने उद्देश्यले स्वचालित केन्द्रको स्थापना गरिएको मङ्गलसेन नगरपालिकाले जनाएको छ । केन्द्रले यस क्षेत्रको तापक्रम, वर्षा, हावाको गति, सूर्यबाट आउने गतिको मापन गर्नुका साथै प्रत्येक आधा घण्टामा नयाँ नयाँ तथ्याङ्क दिने त्रिभुवन विश्व विद्यालयका सहप्राध्यापक डाक्टर मदन सिग्देलले जानकारी दिनु भयो  ।

जलवायु परिवर्तन र विपद न्यूनीकरणमा यो केन्द्रले महत्त्वपूर्ण भूमिका खेल्ने सह प्राध्यापक डाक्टर सिग्देलको भनाई छ । बढ्दो जलवायु परिवर्तनले गरिरहेको असर र यसबाट हुने क्षति न्यूनीकरणमा टेवा पुर्‍याउने उद्देश्यले त्रिभुवन विश्व विद्यालय जल तथा मौसम केन्द्रीय विभाग कीर्तिपुर काठमाडौँको समन्वयमा केन्द्रको स्थापना गरिएको नगर प्रमुख पदम बहादुर बोहराले बताउनु भयो ।

अहिले यसको स्थापना मात्रै गरिएको र यस बाट चाडै सही सूचना लिनको लागि नगरपालिका बाट आवश्यक बजेट बिनियोजन गरि थप प्रक्रिया अघि बढाइने जानकारी दिनुभयो । यसबाट नगरपालिका भित्रका विपद् सम्बन्धीका सबै सूचनाहरू सहजै प्राप्त गर्न सकिने उहाँको विश्वास रहेको छ । बिहीबार मङ्गलसेन नगरपालिका वडा न -३ मा एक कार्यक्रमको आयोजनागरि स्वचालित मौसम मापन केन्द्रको स्थापना भएको हो । वडा न -३ का अध्यक्ष तथा नगरपालिका प्रवक्ता बृख बहादुर बोगटीले स्वचालित मौसम मापन केन्द्र स्थापना हुनु आफैमा राम्रो पक्ष भएकाले अब यसको संरक्षण र संवर्द्धनमा विशेष जोड दिइने बताउनु भयो  ।

स्थानीय सरकारहरू नयाँ बजेट ल्याउने तयारीमा जुटी रहेकाले मङ्गलसेन नगरपालिकाको तर्फबाट यसको थप विकासका लागि आवश्यक बजेटको व्यवस्थापन गरि स्थानीय व्यक्तिले सूचना पाउने गरि आवश्यक प्रक्रिया अघि बढाउने प्रतिबद्धता जनाउनु भयो  ।कार्यक्रममा मङ्गलसेन नगरपालिका उप प्रमुख संगीता रावल सोडारी, वडा न ४ का अध्यक्ष नाम सिंह धामी, वडा न ६ का अध्यक्ष देवेन्द्र प्रसाद भण्डारी, वडा न १३ का अध्यक्ष हिक्मत बहादुर बोगटी, वडा न ३ का वडा सदस्य चक्र बहादुर साउद, रमेश बिक लगायत स्थानीय सरोकारवालाको सहभागिता रहेको थियो । यसको महत्वका बारेमा जानकारी गराउनुहुँदै अर्का सह-प्राध्यापक सुनिल आचार्यले जलवायु घटनाक्रमको आँकलन गरी केन्द्रमा जडान गरिएका उपकरणले उपलब्ध गराएको विवरण निर्देशनालयको वेबसाइटमा अपलोड भई हेर्न सकिने र सरोकारवालालाई मौसमको जानकारी दिन सकिने बताउनु भयो  ।

“किसानले लगाएको बालीमा हुन सक्ने हानी–नोक्सानी कम गर्न, बाली सुरक्षा गर्न र बाली लगाउनका लागि प्रतिकूल मौसमबारे जानकारी दिनका लागि केन्द्रले सघाउ पुर्‍याउने” उहाँले भन्नु भयो । वर्षभरिको विवरण केन्द्रमा जडान गरिएका उपकरणका माध्यमबाट सुरक्षित गर्न सकिने भएकाले कुन मौसममा कुन बाली लगाएर बढी उत्पादन लिन सकिन्छ भन्नेबारे जानकारी किसानलाई दिन सकिने भन्दै यस बाट धेरै कुराको बारेमा जानकारी लिन सकिने सह-प्राध्यापक आचार्यले बताउनु भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button