सञ्चारमन्त्री बाँस्कोटाद्वारा राजीनामा !

काठमाडौँ । सभामुख अग्नि प्रसाद सापकोटाले सञ्चार तथा सूचना मन्त्री गोकुल प्रसाद बाँस्कोटाले पदबाट राजीनामा दिनुभएको सदनलाई जानकारी गराउनुभएको छ ।
सञ्चार तथा सुचना प्रविधि मन्त्री गोकुल प्रसाद बाँस्कोटालाई बर्खास्त गर्न र त्यस बिषयमा प्रधानमन्त्रीले सदनमा आएर जानकारी गराउनुपर्ने माग गर्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधी सभाको बैठक अवरुद्ध गरेपछि सभामुख सापकोटाले बैठकमा सो बिषय प्रबेश गरिसकेको र जानकारीमा आए अनुसार सञ्चारमन्त्रीले राजीनामा पनि दिइसकेको जानकारी अनौपचारिक रुपमा आएकाले सदन सुचारु गर्न पटक पटक आग्रह गर्नुभयो ।
प्रमुख प्रतिपक्षी दलले लगातार अवरोध गरिरहेपछि अवरोधको यस्तो अवस्थामा सदन चल्न नसक्ने भन्दै सभामुखले बैठक फागुन १३ गते मंगलबार दिनको १ बजे सम्मका लागि स्थगित गर्नुभयो ।
सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदका लागि स्वीस एजेन्टसँग भएको कुराकानीमा सञ्चारमन्त्री बाँस्कोटाले कमिसनबारे कुराकानी गरेको अडियो सार्वजनिक भएको र अडियोमा एजेन्टले मन्त्रीलाई कमिसन आउने बताएको भन्दै प्रतिनिधी सभाको बैठक सुरु हुना साथ नेपाली कांग्रेसका सांसद पुष्पा भुषाल गौतमले मन्त्रीको राजीनामाको मागसँगै यसबारे प्रधानमन्त्री केपी शर्मा ओलीले सदनलाई जानकारी गराउनुपर्ने माग गर्नुभएको थियो ।
जग्गा फिर्ता गरेकालाई कारवाही नहुने भएजस्तै राजीनामा दिसकेपछि कारवाही गर्न पर्दैन भन्ने नहोस् भन्दै संसद यथास्थितीमा चल्न दिन नसक्ने सांसद भुषालले धारणा राख्दै गर्दा नेपाली कांग्रेसका सांसदहरु आ–आफ्नो स्थानमा उभिएर बैठक अवरुद्ध गर्नुभएको थियो ।








प्रतिक्रिया राख्नुहोस्