तपाईँ सुन्दै हुनुहुन्छः

नेपाल क्लियरिङ हाउसले ‘नेप्स’लाई गाभ्यो

काठमाडौँ । भुक्तानी प्रणाली सेवा प्रदायक कम्पनी नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसिएचएल)ले सोही प्रकृतिको अर्को कम्पनी नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम्स् लिमिटेड (नेप्स) लाई प्राप्ति गरी आजबाट ‘नेपाल क्लियरिङ हाउस लिमिटेड’ कायम भएको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार साबिकको नेप्सेको सम्पूर्ण दायित्व तथा सम्पत्ति आजबाट नेपाल क्लियरिङ हाउसमा सरेको हो । गत चैतमा एनसीएचएलले नेप्सलाई प्राप्ति गर्नेसम्बन्धी सम्झौता भएको थियो । उक्त सम्झौतापछि दुवै संस्थाहरूले छुट्टाछुट्टै विशेष साधारणसभामार्फत आफ्नो सेयर धनीहरूको समर्थन लिई नेपाल राष्ट्र बैङ्कको अन्तिम स्वीकृति मागेका थिए ।

बैङ्क वित्तीय संस्थाबाट प्रवर्द्धित दुवै संस्था नेपाल राष्ट्र बैङ्कबाट भुक्तानी प्रणाली सञ्चालकको अनुमति प्राप्त गरी विगत लामो समयदेखि सञ्चालनमा थिए । नेप्सले हालसम्म विभिन्न कार्ड स्किमका लागि कार्ड स्विचको पूर्वाधार विस्तार गर्दै बैङ्क वित्तीय संस्थालाई सेवा दिँदै आएको थियो । त्यस्तै एनसिएचएलले कार्ड बाहेकका विभिन्न विद्युतीय भुक्तानी प्रणाली, पूर्वाधार प्ल्याटफर्ममार्फत आफ्नो सदस्यहरूलाई सेवा दिँदै आएको थियो ।

प्राप्ति प्रक्रिया सकिएसँगै दुवै संस्थाका प्रणाली, पूर्वाधार र कारोबारलाई एकीकृत गरिएको छ । विसं २०६५ पुसमा स्थापना भएको एनसिएचएलले एनसिएचएल–इसीसी, एनसिएचएल–आइपिएस, कनेक्ट आइपिएस, कर्पोरेट पे, कनेक्ट आरटीजिएस, नेसनल पेमेन्ट इन्टरफेस, नेपाल पे क्युआरजस्ता भुक्तानी प्रणाली सञ्चालन गर्दै आएको छ ।

हाल एनसिएचएलले एनपिएसअन्तर्गतको नेशनल कार्ड स्विच र नेपाल पे डोमेस्टिक कार्ड कार्यान्वयन गर्ने क्रममा रहेको छ । ५३ भन्दाबढी बैङ्क वित्तीय संस्था र एक सयभन्दा बढी अन्य संस्था/निकायले एनसिएचएलको प्रणाली प्रयोग गर्दै आएका थिए ।

त्यसैगरी विसं २०६९ फागुनमा स्थापित नेप्सले विभिन्न बैङ्क वित्तीय संस्थाका लागि केन्द्रीकृत रुपमा कार्ड जारी गर्ने, स्वीकार गर्ने र कारोबार सम्पन्न गर्ने काम गर्दै आएको थियो । नेप्सअन्तर्गत ११ बैङ्क तथा वित्तीय संस्थाको एक हजार छ सयभन्दा धेरै एटिएम, नौ हजारभन्दा बढी पिओएसमार्फत सेवा र इकमर्स कारोबारको सेवा उपलब्ध गराउँदै आएको थियो । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button