धार्मिक पर्यटकीयस्थल सुन्दरादेवीको विकास बजेट अभावका कारण ओझेलमा

दाङ । दाङको पर्यटकीयस्थल सुन्दरादेवी मन्दिरको बिकास विस्तृत योजना निर्माण अनुसार हुन सकेको छैन । तत्कालीन जिल्ला बिकास समितिले सुन्दरादेवी मन्दिरको विकासका लागि विस्तृत योजना निर्माण गरेको भए पनि सोही बमोजिम निर्माण कार्य अघि बढ्न नसकेको हो ।
दाङको शान्तिनगर गाउँपालिका ३ सुइकोटमा रहेको धार्मिक पर्यटकीयस्थलको निर्माण गर्न जिल्ला बिकास समितिले विस्तृत योजना निर्माण गरेको थियो । जिल्ला समन्वय समितिले २०७४ सालमा विस्तृत योजना निर्माण गरेको हो । योजना अनुसार आवश्यक बजेट नछुट्टिँदा कामले गति लिन नसकेको हो ।
राज्यको लगानी नहुँदा आन्तरिक र बाह्य पर्यटकको गन्तव्यका रुपमा बिकास हुन नसकेको स्थानीय टीकाराम वलीले बताउनुभयो । जिल्ला समन्वय समितिले निर्माण गरेको विस्तृत योजनामा सुन्दरादेवीको विकासका लागि ८८ करोड ७६ लाख ६५ हजार नौ सय ९१ रुपैयाँ २३ पैसा खर्च हुने अनुमान गरिएको छ ।

विस्तृत योजनामा विभिन्न २३ प्रकारका भौतिक संरचना निर्माण गर्ने उल्लेख गरिएको छ । जस अनुसार सुन्दरादेवी पुग्न सडक, मन्दिरको पुनःनिर्माण, पञ्चबल हान्ने मन्दिर, धर्मशाला, चिल्ड्रेन पार्क, हल, बगैँचा, पर्खाल, गौशाला, सप्ताह हल, पुजारी निवास, प्रतीक्षालय, भ्यू–टावर, पदमार्ग, गार्डेन पार्क, हेलिप्याड, पानी ट्याङ्की, पिकनिक स्थल निर्माण गर्ने लक्ष्य राखिएको छ ।
सुन्दरादेवी मन्दिरमा हरेक बर्ष ठूलो र सानो दशैंमा पूजापाठ, दर्शन गर्ने वली चढाउने प्रचलन छ । सल्यानको खैराबाङ भगवती मन्दिर पुग्न नसक्नेहरू दाङको सुन्दरादेवी मन्दिर पुग्ने स्थानीयको भनाइ छ ।
विस्तृत योजना अनुसार काम गर्न सकिएमा जिल्लाको अग्लो भू–भागमा रहेको धार्मिक पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न सकिने प्रशस्त आधार रहेका छन् । स्थानीयले सुन्दरादेवीको विकास हुन सकेमा शान्तिनगरको पहिचान फरक हुने बताउँछन् । विस्तृत योजना अनुसार सबैभन्दा बढी सडक निर्माणका लागि ४३ करोड ४३ लाख खर्च लाग्ने अनुमान गरिएको छ । योजनामा सबैभन्दा कम खर्च पानी ट्याङ्कीका लागि दुई लाख ५२ हजार आठ सय ५० रुपैयाँमा काम गर्न सकिने अनुमान छ ।
शान्तिनगर गाउँपालिकाका अध्यक्ष प्रमोद बस्नेतले सुन्दरादेवी मन्दिर क्षेत्रको विकासका लागि पहल भइरहेको बताउनुभयो । ‘विस्तृत योजना निर्माण भएको छ’– अध्यक्ष बस्नेतले भन्नुभयो– ‘विस्तृत योजनाको अध्ययन गरेर पालिका, प्रदेश र संघीय सरकारले समन्वय गरेर काम गर्ने लक्ष्य राखेका छौँ ।’

सुन्दरादेवी भगवती शक्तिपीठ मन्दिर व्यवस्थापन समितिका अध्यक्ष धनबहादुर बिकले सरकारले विस्तृत योजना अनुसार बजेट व्यवस्थापनमा ध्यान नदिएको गुनासो गर्नुभयो । स्थानीय तहदेखि हरेक मन्त्रालयमा विस्तृत योजना निर्माणको फाइलसहित निवेदन दर्ता गराएको भन्दै मन्दिरको विकासका लागि सुनुवाइ तथा बजेट व्यवस्थापनमा कसैको ध्यान नपुगेको दुखेसो गर्नुभयो ।
सुन्दरादेवी भगवती मन्दिरको आसपासको जङ्गललाई धार्मिक वनका रुपमा दर्ता गरिएको छ । जिल्ला वन कार्यालयले २०७३ सालमा धार्मिक वनका रुपमा दर्ता गरेर स्थानीयलाई संरक्षण गर्ने अधिकार दिएको छ ।
मन्दिरको सुन्दरावस्थालाई कायम राख्न र जङ्गलको संरक्षणका लागि स्थानीयले धार्मिक वनका रुपमा दर्ता गरेर संरक्षण गरिरहेका छन् । जथाभाबी रुपमा जङ्गल फडानी भई संरक्षण हुन नसक्ने अवस्था आएपछि धार्मिक वनका रुपमा दर्ता भएको हो ।
पर्यटन प्रवद्र्धनका लागि बहस
धार्मिक पर्यटकीयस्थल सुन्दरादेवी मन्दिर परिसरमा पहिलो पटक पर्यटन प्रवद्र्धनका लागि बहस गरिएको छ । शान्तिनगर गाउँपालिकाको सहयोगमा चलचित्र पत्रकार संघ दाङले बहसको आयोजना गरेको हो ।
बहसमा नायक निखिल उप्रेती, गाउँपालिकाका अध्यक्ष प्रमोद बस्नेत, चलचित्र पत्रकार संघका उपाध्यक्ष कुबेर गिरी, सस्कृतबिद् डा. गोविन्द आचार्यले बहस गर्नुभएको थियो । उक्त कार्यक्रममा स्थानीय जनप्रतिनिधि, स्थानीयबासी, पत्रकार तथा मन्दिर व्यवस्थापन समितिका पदाधिकारीको सहभागिता रहेको थियो ।








प्रतिक्रिया राख्नुहोस्