तपाईँ सुन्दै हुनुहुन्छः

‘सञ्चार क्षेत्रलाई जनमुखी बनाउन सबैको भूमिका आवश्यक’

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको पत्रकारिता तथा आमसञ्चार विभागका प्रमुख प्राध्यापक प्रवलराज पोख्रेलले अध्यापक र विद्यार्थीबीच हुने अन्तरक्रियाले विभागलाई आगामी दिनमा सबैको चाहाना अनुसार अगाडि बढ्न सहज हुने बताउनुभएको छ ।

त्रिभुवन विश्वविद्यालय पत्रकारिता तथा आम सञ्चार विभागले हालै काठमाडौँमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा विभागीय प्रमुख पोख्रेलले ३५ वर्षको आफ्नो अध्यापन कालमा यो अन्तरक्रिया कार्यक्रमलाई आफूले अन्तर्राष्ट्रिय स्तरको रुपमा देख्न पाएकोमा हौसला समेत मिलेको बताउनुभयो ।

उहाँले पत्रकारिता क्षेत्रको अध्ययन अध्यापन कार्यलाई अझै प्रभावकारी बनाउन यस्ता किसिमका अन्तरक्रिया कार्यक्रमहरूलाई आगामी दिनमा पनि निरन्तरता दिइने बताउनुभयो ।

कार्यक्रममा २१ औँ शताब्दीमा मिडियाको व्यावसायिकतामा चुनौती विषयमा आफ्नो धारणा राख्नुहुँदै सहप्राध्यापक डा.कुन्दन अर्यालले जनताप्रति उत्तरदायी भएर सञ्चार जगत्ले काम गर्नुपर्नेमा जोड दिनुभयो ।

यस्तै कार्यक्रममा डा.देवराज अर्यालले कार्बन उत्सर्जनले हिमाली क्षेत्र गम्भीर अवस्थामा परेका कारण हिमालदेखि समुन्द्र सतहका क्षेत्रसम्म जनजीवनमा गम्भीर समस्यामा परेको भन्दै विकास पत्रकारिताको अवधारणा अनुसार जलवायु परिवर्तनलाई एजेण्डा नै बनाएर अगाडी बढ्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा वक्ताका रुपमा रहनुभएका शशी मराशिनीले पत्रकारिता क्षेत्र समाजलाई सकारात्मक र सही दिशामा डोर्‍याउने गरी काम गर्न सक्ने हो भने यसले समाज र देशमा सकारात्मक रूपान्तरण ल्याउने बताउनुभयो ।

यस्तै अर्का वक्ता घमराज लुइँटेलले रेडियो, टेलिभिजन र सामाजिक सञ्जालहरूका साथै डिजिटल मिडियाका बारेमा प्रकाश पार्नुभयो ।

कार्यक्रममा रेडियो नेपालका कार्यकारी निर्देशक बुद्धिबहादुर केसी, नेपाल प्रेस काउन्सिलका प्रमुख प्रशासकीय अधिकृत झविन्द्र भुषाल, नेपाल पत्रकार महासङ्घका केन्द्रिय सदस्य शान्तराम बिडारीलगायतले नेपालमा सञ्चारमाध्यमको विकास क्रम र देखिएका नयाँ नयाँ उपलब्धिहरू बारे जानकारी गराउनुभयो ।

यस्तै अन्तरक्रियामा सहभागी विद्याथीहरुका तर्फबाट वक्ताका रुपमा केशवराज पौडेलले सरकारी सञ्चारमाध्यमले सत्य तथ्य प्रमाणित सामग्री प्रकाशन र प्रसारण गर्ने गरेको तर निजी क्षेत्रका सञ्चार माध्यमले मिडिया मालिकको अभिरुचि अनुसारका सामग्री दिने गरेको गरेको पाईने भन्दै आफ्नो अनुभव सुनाउनुभयो ।

यस्तै कार्यक्रममा अन्य विद्यार्थी वक्ताहरू रवि कुमार बरुवाल, सरोज थापा, धनवल राई, रञ्जु अधिकारी लगायतले लैङ्गिक तथा जातीय विभेद लगायतका विषयमा सञ्चार क्षेत्रले अझ बढी महत्वका साथ आवाज उठाउनु जरुरी रहेको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button