बजेटमाथि आइतबारबाट छलफल हुने
काठमाडौँ । आगामी आर्थिक बर्ष २०८१/०८२ का लागि सरकारद्वारा संसदमा प्रस्तुत बजेटमाथि आइतबारबाट छलफल हुने भएको छ ।
अर्थमन्त्री वर्षमान पुनले आइतबारको बैठकमा बजेट माथि छलफल गरियोस् भन्ने प्रस्ताव राख्नुहुने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।
संघीय सरकारले आगामी आर्थिक बर्ष २०८१/०८२ का लागि १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँ बराबरको वार्षिक आयव्ययको विवरण बजेट ल्याएको थियो ।
जेठ १५ गते संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले प्रस्तुत बजेटका लागि चालुतर्फ ११ खर्ब ४० अर्ब ६६ करोड, पुँजीगततर्फ ३ खर्ब ५२ अर्ब ३५ करोड र वित्तीय व्यवस्थापनतर्फ ३ खर्ब ६७ अर्ब १८ करोड रकम विनियोजन गरेको बताउनुभएको थियो ।
प्रस्तुत बजेटको कुल विनियोजित रकममध्ये चालुतर्फ ६१.३१ प्रतिशत, पुँजीगततर्फ १८.९४ प्रतिशत र वित्तीय व्यवस्थापनतर्फ १९.७४ प्रतिशत रकम विनियोजन भएको छ ।
प्रस्तुत बजेटले ४ खर्ब ८ अर्ब २७ करोड रुपैयाँ प्रदेश तथा स्थानीय तहमा हस्तान्तरण गर्ने प्रस्ताव गरेको छ ।
बजेटले प्रस्ताव गरेको खर्च आन्तरिक राजस्वबाट १२ खर्ब ६० अर्ब ३० करोड तथा आन्तरिक ऋणबाट ३ खर्ब ३० अर्ब बेहोर्ने प्रस्ताव गरेको छ । यसबाट पनि ५ खर्ब ४७ अर्ब रकम न्युन हुने भएकोले वैदेशिक ऋण २ खर्ब १७ अर्ब ६७ करोड तथा वैदेशिक अनुदान ५२ अर्ब ३३ करोड लिने प्रस्ताव बजेटमा गरिएको छ ।
प्रतिक्रिया राख्नुहोस्