व्यवसायीक तरकारी खेतीबाट वार्षिक ५ लाख आम्दानी गर्दै दन्तेराम
बाँके । बाँके बैजनाथका कृषकहरूले परम्परागत खेती गर्दा जीविकोपार्जन गर्न धौधौ भएपछि व्यावसायिक तरकारी खेती गर्न थालेका छन् । थोरै लगानीमा धेरै आम्दानी हुन थालेपछि बैजनाथ गाउँपालिकाका कृषक तरकारी खेतीप्रति आकर्षित हुन थालेका छन् ।

कृषकहरूले मौसमी तथा बेमौसमी तरकारी उत्पादन गरी लाखौँ रुपैयाँ आम्दानी गर्न थालेका छन् । तरकारी खेतीबाट वार्षिक ५ लाख रुपैयाँसम्म आम्दानी हुने गरेको स्थानीय कृषकहरू बताउँछन् । ५ वर्ष यता गाउँ गाउँमा व्यवसायीक रुपमा तरकारी खेती गरिँदै आएको छ । कृषिको क्षेत्रमा काम गर्ने सामाजिक संघ संस्थाले जनचेतनामूलक कार्यक्रम तथा सहयोग गर्न थालेपछि कृषक व्यावसायिक तरकारी खेतीमा आकर्षित बन्न थालेका हुन् ।

कोहलपुर नगरपालिका १ कौसीलानगर घर भएका दन्तेराम जैसीले अहिले बैजनाथ गाउँपालिका –१ मा जमिन भाडामा लिएर तरकारी खेती गरिरहनुभएको छ । १ बिगाहा जमिनको वार्षिक ३० हजार रुपैयाँ भाडा दिने सम्झौता अनुसार जैसीले व्यावसायिक तरकारी सुरु गर्नुभएको हो । अहिले ५ बिगाहा जमिनमा उहाँले तरकारी खेती गर्दै आउनुभएको छ। सुरुमा २ लाख रुपैयाँको लगानीमा तरकारी खेती सुरु गर्नुभएका जैसीले सुरुवातमा निकै दुःख भोग्नुपरेको सुनाउनुभयो ।

कहिले तरकारी खपत नहुने, कहिले कुहिने त कहिले जिल्ला बाहिरबाट आउने तरकारीसँग मूल्यमा प्रतिस्पर्धा गर्न नसक्दा धेरै दुःख खेप्नुपरेको उहाँले बताउनुभयो। जमिन भाडामा लिएर शुद्ध अर्गानीक तरकारी खेती गरेको सुनेपछि जिल्ला कृषि विकास कार्यालयले पनि प्राविधिक सहयोग गरेको जैसीले बताउनुभयो ।
तरकारी व्यवसायलाई जिल्लाकै नमूना बनाउने उद्देश्यले तरकारी खेतीमा लागेको जैसीको भनाई छ । अहिले वार्षिक झण्डै ५ देखि ६ लाख रुपैयाँसम्म आम्दानी हुने गरेको उहाँले बताउनुभयो । मौसमी र बेमौसमी तरकारी गरी १२ प्रकारका तरकारी आफ्नो बारीमा फलाउने गरेका बताउँदै जैसीले मौसमले साथ दिएमा राम्रो आम्दानी हुने बताउनुभयो।

‘सानोतिनो जागिर, व्यापार व्यवसायभन्दा कृषि पेशा राम्रो रहेछ,’ जैसीकी श्रीमती पवित्रा जैसीले भन्नुभयो । उहाँले मेहनत र कामप्रतिको लगावले नसोचेको सफलता मिलेको बताउनुभयो । ‘०६८ सालमा दुई लाखको लगानीमा व्यावसायिक तरकारी खेती सुरु गर्यौँ । अहिले १० लाखभन्दा बढी पुगेको छ’
उहाँले बैजनाथ गाउँपालिकाको राजीपुरमा २ बिगाहा र ३ विगाह चिसापानीमा भाडा लिएर तरकारीखेती गर्दै आउनुभएको छ । उहाँले ५ जनालाई रोजगारी समेत दिनुभएको छ।






प्रतिक्रिया राख्नुहोस्