जिप्रका पर्साका तत्कालीन शाखा अधिकृत मैनालीको हत्यामा संलग्न अभियुक्त गिरी पक्राउ

वीरगंज । जिल्ला प्रशासन कार्यालयका पर्साका तत्कालीन शाखा अधिकृत मोहनप्रसाद मैनाली सहित दुई व्यक्तिलाई गोली हानेर हत्या गर्ने प्रमुख अभियुक्त तथा पर्सामा शृङ्खलाबद्ध चोरी, खुन डाँका, लगायतका मुद्दामा संलग्न रहेको आरोप लागेका एक व्यक्तिलाई जिल्ला प्रहरी कार्यालय पर्साले पक्राउ गरी आज सार्वजनिक गरेको छ ।
पर्सा प्रहरीले गत आइतबार पर्साको सखुवा प्रसौनी गाउँपालिका गाउँपालिका–५, बलुवाका ७२ वर्षीय प्रेम गिरीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय, पर्साका एसपी कुमोध ढुङ्गेलले बताउनुभयो । अभियुक्त गिरीले २०६५ असोजमा जिल्ला प्रशासन कार्यालयका पर्साका तत्कालीन शाखा अधिकृत मोहनप्रसाद मैनालीको गोली हानी भएको हत्या गरेका थिए ।
मैनालीको हत्यामा संलग्न रहेको आरोपमा अनुसन्धानका लागि जिल्ला अदालतबाट म्याद लिएर थप जाँच भइरहेको पर्सा प्रहरीले जनाएको छ । उनी २५ वर्ष देखि प्रहरीको खोजी सूचीमा रहेका थिए ।
त्यसैगरी २०५७ भदौमा पर्साको तत्कालीन विन्दवासिनी गाविस–४ बस्ने ३० वर्षीय देवेन्द्र यादवको घरमा भएको डकैतीमा पनि गिरीका संलग्नता रहेको र त्यसक्रममा उनीसहितको समूहले गोली हानेर देवेन्द्रप्रसाद यादवको हत्या गरेको दाबी प्रहरी उपरीक्षक ढुङ्गेलले गर्नु भयो ।
२०६६ फागुन र २०६० पुसमा उनी पर्सा प्रशासनको फैसला अनुसार हातहतियार तथा खरखजाना मुद्दामा फरार रहेका थिए । २०६० असारमा उनी पुनरावेदन अदालत हेटौँडाको फैसलाअनुसार हातहतियार तथा खरखजना मुद्दामा फरार थिए ।
२०५६ जेठमा जिल्ला प्रशासन कार्यालय, पर्साले गरेको सार्वजनिक अपराधसम्बन्धी मुद्दामा समेत उनी फरार थिए ।








प्रतिक्रिया राख्नुहोस्