नवलपरासीमा अनलाइन प्रणाली बाट नागरिकता सिफारिस सुरु
नवलपरासी,पश्चिम्। पश्चिम नवलपरासीमा पहिलो पटक स्थानीय तह वडा मार्फत अनलाइन प्रणाली बाट नागरिकता सिफारिस गर्ने व्यवस्था सुरु गरिएको छ । वडाका जनप्रतिनिधि र कर्मचारीलाई गृह मन्त्रालयको टोलीले तालिम दिएपछि केन्द्रिय नागरिकता सूचना व्यवस्थापन प्रणाली (सिसिआईएमएस) मार्फत नागरिकता सिफारिस गर्ने व्यवस्था स्थानीय तहका केही वडाबाट सुरु गरिएको हो ।जिल्लाको बर्दघाट र सुनवल नगरपालिकाका वडाहरूबाट अनलाइन प्रणाली बाट सिफारिस दिने काम सुरु भएको छ।
फारम भर्दा निवेदकका आवश्यक कागजात स्क्यान गरि अनलाइनमा प्रविष्ट गरिनुका साथै सबै विवरणहरू खुलाएर भरिन्छ ।जनप्रतिनिधिले तोक आदेश गरेका फारम मात्रै जिल्ला प्रशासनमा पठाउने हुँदा विवरणमा कैफियत नहुने बताइएको छ ।
स्थानीय तहको वडा कार्यालयबाटै अनलाइन प्रणाली मार्फत नागरिकता सिफारिस गर्ने व्यवस्थाले सिफारिस प्रक्रियामा झुठा र दोहोरो सिफारिस जस्ता गैरकानूनी कार्य नियन्त्रण हुने, प्रशासन कार्यालयहरू, स्थानीय तह र वडा कार्यालय तथा सेवाग्राहीको समयको बचत हुनुका साथै, केन्द्रिय अभिलेख व्यवस्थापनमा पनि सहयोगी हुने जनाइएको छ ।
“वडामा एउटा फारम प्रविष्ट गर्न १५ देखि ३० मिनेट लाग्ने रहेछ तर यहाँ समय लागेपनी अनलाइन प्रणालीले प्रशासन कार्यालयमा चाहिँ काम चाँडो काम बन्ने हुँदा सेवाग्राहीलाई दुवै ठाउँमा कुर्नु पर्दैन”बर्दघाट नगरपालिका वडा नम्बर १४ का वडा सचिव टङ्कनाथ भण्डारीले भन्नू भयो ।कागजात नपुगे पनि सेवाग्राहीले तत्काल जानकारी पाउन समेत यो प्रणालीले सहज हुने छ ।
केही वडाबाट सुरु भएको र तालिम पछि सबै वडामा व्यवस्थापन मिलाइने बर्दघाट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रकाश खनालले जानकारी दिनुभयो ।
पुराना नागरिकता जारी भएका धेरै विवरण जिल्ला प्रशासन कार्यालयमा अहिले नभएको अवस्थामा यस्तो विद्युतीय व्यवस्थाले सबै प्रणालीलाई एकिकृत गर्न र दस्ताबेज कायम गर्न सहज हुने प्रमुख जिल्ला अधिकारी सुरेस पन्थीले बताउनुभयो ।
यसअघि वडा बाट नागरिकताका लागी सिफारिस मात्रै हुने गरेकोमा अब केन्द्रिय नागरिकता सूचना व्यवस्थापन प्रणालीमै वडा बाटै सबै कागजात अनलाइनमा प्रविष्ट गरी त्यसको जनप्रतिनिधिले पुष्टि गरेको विवरण मात्रै प्रशासन कार्यालयमा पठाउने भएकाले प्रशासन कार्यालयले तत्कालै नागरिकता जारी गर्न सक्ने छ ।
यो व्यवस्थाले जनप्रतिनिधि र कर्मचारीलाई पनि सहज हुने भएकाले सबै वडाबाट केही दिन भित्रै अनलाइन प्रणाली मार्फत नागरिकताको सिफारिस गर्ने व्यवस्था लागु हुने सुनवल नगरपालिका प्रमुख बिमला अर्यालले बताउनुभयो ।
गृह मन्त्रालयको टोलीले जिल्लाका सातै स्थानीय तहमा यस सम्बन्धि अनुशिक्षण प्रदान गर्दे छ । जेठ भित्रै सबै पालिकाले अनलाइन प्रणाली मार्फत नागरिकता सिफारिस गर्ने प्रमुख जिल्ला अधिकारी पन्थीले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्