तपाईँ सुन्दै हुनुहुन्छः

‘लुबाट बच्न जनचेतना बढाउन आवश्यक’

काठमाडौँ । ‘लु’ (तातो हावाको लहर) बाट बच्नका लागि व्यापक जनचेतना तथा प्रचारप्रसार गर्न आवश्यक रहेको सरोकारवालाहरुले बताउनुभएको छ । 

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आज आयोजना गरेको  ‘लु’को प्रभाव र पूर्व तयारीसम्बन्धी संवाद कार्यक्रममा उहाँहरूले ‘लु’बाट बच्न व्यापक जनचेतना जरुरी रहेको बताउनुभएको हो । 

प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले आपत्कालीन अवस्थासम्बन्धी कार्ययोजना बनाउन सबै सरोकारवालालाई आग्रह गर्नुभयो । “सबैको सहकार्यमा लु व्यवस्थापन तथा न्यूनीकरणको कार्ययोजना तर्जुमा गर्नसकेमा उपयुक्त हुनेछ”, उहाँले भन्नुभयो, “लुसम्बन्धी जनचेतना एकदमै जरुरी छ, जनचेतनाको ठूलो महत्व रहन्छ ।”

ललितपुरका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)शेखर खनालले प्रत्येक जिल्लामा जनचेतना बढाउनका लागि निर्देशन र गर्मीबाट बच्न जीवनजल वितरणका कार्यक्रम अगाडि बढाउनुपर्ने सुझाव दिनुभएको छ । 

प्राधिकरणका वरिष्ठ मौसमविद् राजेन्द्र शर्माले ‘लु’बाट बच्नका लागि जनचेतना जगाउन र नीति तर्जुमा गर्नुपर्ने सुझाव दिनुभयो । 

जल तथा मौसम विज्ञान विभागले यस वर्ष तापक्रम बढ्ने प्रक्षेपण गरिरहेको उल्लेख गर्दै तापक्रमबाट मानिसको जनजीवनबाट प्रभावित हुनसक्ने उहाँको भनाइ थियो । 

विभागका वरिष्ठ मौसमविद् शान्ति कँडेलले पनि जलवायु परिवर्तनको असरका कारण विश्वमा तापमान बढ्दै गइरहेको भन्दै समयमा नै न्यूनीकरणका उपाय अवलम्बन गर्न नसकेमा तातो हावाको असर अझै बढ्नसक्ने बताउनुभयो । “विश्वमा बढिरहेको तापक्रमका कारण नेपाल पनि अछुतो छैन, नेपालमा औसतमा शून्य दशमलव ०५२ डिग्री सेल्सियस अधिकतम तापक्रम बढ्दै छ । हिमाल पग्लँदै गइरहेको छ”, उहाँले भन्नुभयो, “कसरी तातो हावाको प्रकोपबाट बच्ने भन्ने विषयमा गम्भीर हुन नसकेमा दिनानुदिन तराईका बासिन्दामा असर पर्दै जानेछ ।”

जनस्वास्थ्यविद् डा.समीर अधिकारीले तातो हावाका कारण मानिसको शारीरिक तथा मानसिक स्वास्थ्यमा असर पुग्न सक्ने भन्दै ‘लु’ बाट बच्ने उपाय अवलम्बन गर्न जरुरी रहेको जानकारी दिनुभयो । “लुका कारण श्वास फेर्न गाह्रो हुन्छ । रगतजन्य समस्या आउन सक्छ ।  शरीरमा घाउ हुनसक्छ”, उहाँले भन्नुभयो, “ब्लड प्रेसरको समस्या बढ्न सक्छ, आँखाको समस्या हुन सक्छ र कालान्तरमा मानिसको मृत्यु हुनसक्छ ।”

डा.अधिकारीले पनि व्यापक जनचेतना र जनसहभागिता तथा समन्वय गरेर लु व्यवस्थापनको काम गर्नुपर्नेमा जोड दिनुभएका छ । लुबाट कसरी सुरक्षित गर्ने ? कसरी पूर्व तयारीका कार्यक्रम सञ्चालन गर्ने ? भन्ने विषयमा कार्यक्रम तय गर्न आवश्यक रहेको उहाँको भनाइ छ । उहाँका अनुसार गर्मीका कारण शरीरमा आलस्य बढ्न सक्छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button