जिम्मेवारीमा केन्द्रित भएर काम गर्न मातहतका निकायलाई मन्त्री शर्माको निर्देशन

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जिम्मेवारीमा विशेष केन्द्रित भएर काम गर्न मातहतका निकाय र विभागका उच्च अधिकारीहरूलाई निर्देशन दिनुभएको छ ।
चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक प्रगति समीक्षा तथा मन्त्रालय स्तरीय बिकास समस्या समाधान समितिको आज मन्त्रालयमा बसेको बैठकलाई सम्बोधन गर्नुहुँदै सञ्चार मन्त्री शर्माले सम्बद्ध निकायहरूलाई कार्यान्वयन गर्न सकिने खालका योजना तथा कार्यक्रम मात्र बनाउन आग्रह गर्नुभयो ।

मन्त्री शर्माले सञ्चार मन्त्रालय सरकारको ऐनाको रुपमा भएकाले अरूलाई मार्गनिर्देश हुने गरी काम गर्नुपर्ने पनि बताउनुभयो ।
कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य डा.रामकुमार फुँंयालले पुँजीगत खर्च न्यून हुनुका कारण पहिल्याएर त्यसको मूल्याङ्कन गरी आगामी दिनमा अगाडी बढ्नुपर्ने बताउनुभयो ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव रामकृष्ण सुबेदीले सञ्चार मन्त्रालय मातहतका निकायहरूमा हेर्दा पुँजीगत खर्च निकै न्यून देखिएकाले पुँजीगत खर्चको क्षमता बढाउन सम्बद्ध सबै निकाय र विभागहरूलाई निर्देशन दिनुभयो ।

सचिव सुबेदीले मन्त्रालय मातहतका निकायहरूको कार्यक्रमहरूको कार्यान्वयनका लागि आवश्यक सहजीकरण गर्न मन्त्रालय साथमा रहेको पनि बताउनुभयो ।
सञ्चार मन्त्रालय अन्तरगतका निकाय तथा विभागहरूको चैत्रसम्मको पुँजीगत खर्च ५ प्रतिशत मात्र रहेको छ ।
यसअघि, बैठकमा भएको छलफलमा सञ्चार मन्त्रालय अन्तरगतका विभिन्न निकाय तथा विभागका प्रमुखहरुले पुँजीगत खर्च बढाउने गरी कार्यक्रम कार्यान्वयनलाई तीव्रता दिन खोजे पनि विभिन्न कारणले सोचे जस्तो कार्यान्वयन हुन नसकेको बताउनुभयो ।

छलफलमा रेडियो नेपालका कार्यकारी निर्देशक बुद्धि बहादुर के.सी.ले यस आर्थिक वर्षको अन्त्यसम्ममा बाजुरामा रेडियो नेपालको एफ.एम.रिले स्टेशन स्थापना हुने र त्यसबाट यसबर्ष ९४ प्रतिशत जनसङ्ख्यामा रेडियो नेपालको पहुँच पुग्ने बताउनुभयो ।
सरकारले यसै आर्थिक वर्षभित्र ९४ प्रतिशत जनसङ्ख्यामा रेडियो नेपालको पहुँच पुर्याउने लक्ष्य लिएको छ भने हाल ९३ प्रतिशत जनसङ्ख्यामा रेडियो नेपालको पहुँच पुगिसकेको छ ।
बैठकको छलफल सत्रमा गोरखापत्र र संस्थानका कार्यकारी अध्यक्ष बिष्णु सुबेदीले गोरखापत्र संस्थानको मूल भवन निर्माणका लागि सरकारसँग माग राख्नुभयो ।

यस्तै, कार्यक्रममा नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष समीर जङ्ग शाह, राष्ट्रिय समाचार समितिका अध्यक्ष धर्मेन्द्र झालगायत सञ्चार मन्त्रालय अन्तरगतका विभिन्न निकायका पदाधिकारीहरूले आ–आफ्ना संस्थाहरूको कार्य प्रगति र गर्नुपर्ने कामका बारेमा धारणा राख्नुभएको थियो ।
बैठकमा भएको छलफलमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव बाबुराम भण्डारीले सहजीकरण गर्नुभएको थियो ।








प्रतिक्रिया राख्नुहोस्