कम्दि कोरिडोरका किसान बाख्रापालनतर्फ आकर्षित

बाँके। बन तथा वन्यजन्तु संरक्षणमा दिनरात लागिपरेका कम्दि कोरिडोर क्षेत्रका स्थानीय हिजो आज संरक्षण सङ्गै वाख्रापालनतर्फ आकर्षित भएका छन् ।
कोहलपुर नगरपालिका वडा नम्बर-७ कम्दि कोरिडोर आसपासका १८ घर स्थानीयलाई तराई भू-परिधि कार्यक्रमले सुरक्षित बाख्राको खोर निर्माण गर्नको लागि आर्थिक सहयोग गरेर सुरक्षित खोर निर्माण गरिदिएपछि यहाँका स्थानीयको बाख्रा पालनतर्फ आकर्षण बढेको तराई भू-परिधि कार्यक्रमका फिल्ड सुपरभाइजर तिलक चौधरीको भनाई रहेको छ।उहाँले स्थानीयको दायित्व वनजङ्गल र वन्यजन्तु जोगाउने हो भने सरोकारवाला निकायको दायित्व यहाँका स्थानीयको जिउधन सङ्गै पशुधनको सुरक्षा दिनु समेत रहेको बताउनु भएको छ।

कम्दि कोरिडोर आसपासका स्थानीय पहिले -पहिले वन्यजन्तुले घरसम्म आएर बाख्रा खाइदिने केही गरि जङ्गली जनावरबाट सुरक्षित भएपनि चोरले खोरैबाट बाख्रा लगिदिने पिडाले आफूहरू ग्रसित भएको स्थानीय रुम कुमारी खड्का बताउनुहुन्छ। उहाँले अहिले सुरक्षित खोर भएपछि ढुक्क भएर बाख्रा पालन गरिरहेको र बाख्रा पालनबाटै वार्षिक दुई लाख आम्दानी गर्न सकेको बताउनु हुन्छ।

यस्तै बाँके राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र कोहलपुर १३ भरैयाका किसान शेरबहादुर वलीले पहिला बाख्रापालन गर्दा जङ्गली जनावरको आक्रमणले बाख्रा पाल्न छोडेको तर अहिले सुरक्षित खोरको अवधारणा आइसकेपछि पुन बाख्रा पालनतर्फ आफु लागेको बताउनुभएको छ।
तराई भू- परिधि कार्यक्रमले मध्यवर्ती र कोरिडोर आसपासका स्थानीय कृषकलाई सुधारिएको बाख्राको खोर निर्माण गर्नको लागि जस्तापाता किला काँटी र तार जाली लगायतका भौतिक सामाग्रीहरू सहयोग गर्दै आइरहेको छ। जसका कारण जङ्गली जनावर गाउँ छिरेर खोरैबाट बाख्रा थुतेर लैजाने समस्याको अन्त्य भएको छ। तराई भू- परिधि कार्यक्रममा बाख्रा र दिनको समयमा बाख्रा चराउन जाने बाख्रा गोठालोको समेत बिमा गरिदिने गरेको छ। जसले गर्दा यहाँका स्थानीयका बाख्रालाई र गोठालोलाई बनमा कुनै जङ्गली जनावरले आक्रमण गरे वा कुनै दुर्घटना परेमा बिमा दाबी गर्न सहज भएको छ।
बाँके राष्ट्रिय निकुञ्जमा केहिबर्ष अगाडि थोरै सङ्ख्यामा रहेका बाघहरूको सङ्ख्या ह्वात्तै वृद्धि भएको छ। विगतमा जम्मा ५ वटा मात्र सङ्ख्यामा रहेका बाघ पछिल्लो गणनामा २५ पुगेको छ। यसबाट पनि मध्यवर्ती क्षेत्रका स्थानीयहरू वन्यजन्तु संरक्षणमा अग्रसर भएर लागेको प्रष्ट हुन जान्छ ।

मध्यवर्ती क्षेत्र आसपास र वन कोरिडोर आसपासका जनताले बन अनि वन्यजन्तुको सुरक्षा गरेसँगै यस क्षेत्रका स्थानीयको जनधन, पशुबालिलाई सुरक्षित राख्न सरोकारवाला निकायको पनि ध्यान जान जरुरी छ। छ एक अर्काले दुवैको अस्तित्व बुझेर काम गर्न सकेमा मात्र मानव र वन्यजन्तु बिचको द्वन्द्व कम गरि सह अस्तित्व कायम राख्न सकिन्छ।








प्रतिक्रिया राख्नुहोस्