गएराति परेको पानीले बुटवलका विभिन्न क्षेत्र डुबानमा
रुपन्देही । शनिबार रातीदेखि परेको ठूलो पानीले बुटवलका विभिन्न क्षेत्र डुबानमा परेका छन् ।
लामो समयदेखि पानी नपरेको र यहाँका अधिकांश नालीहरू फोहरले पुरिएकाले पनि एकै पटक ठूलो पानी पर्दा ती क्षेत्रहरू डुबानमा परेका हुन् । डुबानका कारण यहाँस्थित सबैभन्दा ठूलो निजी स्कुल न्यू होराइजनले आज विद्यालय बन्द गरेको छ । विद्यार्थी तथा अभिभावकलाई सूचना पठाएर उसले बिदा दिएको छ । अन्य विद्यालयहरू पनि प्रभावित भएका छन् । सोह्रछत्तिस कुलोको छेउमा रहेको सो स्कुलमा रहेका तल्लो तलाका सबै कक्षाकोठाहरू डुबेका छन् भने मैदानभर सबै लेदोले भरिएको छ । वडा नं ११ मा पर्ने सो क्षेत्रमा रहेको कुलो थुनिएर बाढी पसेको र अन्य घरहरू डुबान परेको स्थानीयले जनाएका छन् । त्यसैगरी यहाँस्थित राससको प्रदेश कार्यालय, रुपन्देही उद्योग सङ्घको कार्यालय, पश्चिम नेपाल बस समितिको कार्यालय सबै डुबानमा परेका छन् ।
रुपन्देही उद्योग संघका प्रमुख कार्यकारी अधिकृत यादव भण्डारीले कार्यालयको तल्लो तलामा पूरै लेदोले भरिएर पस्न नमिल्ने भएकाले कार्यालय सार्न थालिएको बताउनुभयो । राससका प्रमुख भरत केसीले पानीले पूरै कार्यालय जलमग्न भएर बाहिर बसेको जनाउनुभयो । स्थानीय उद्यमी चन्द्र खनालले धेरै समयदेखि टोलविकास संस्थाहरूले प्लास्टिकजन्य वस्तु जथाभाबी नफाली नालाहरूमा नियमित सरसफाइ अभियान चलाएको भए यस्तो क्षति नहुने भन्दै अब सर्तक रहन सुझाउनुभएको छ । बुटवलका इन्जिनियर गौतम रौनियारले सोह्रछत्तिस कुलोमा रहेको गेट बन्द भएकाले यति ठूलो समस्या आएको र आफ्नो घर पनि डुबानमा परेको बताउनुभयो । उद्योगी अशोक कुँवरले आफ्नो उद्योगमा भएको डुबानले ठूलो क्षति भएको बताउनुभयो । कालिकानगरस्थित शुभनारायणी फर्निचर उद्योगमा रहेको करिब ५ लाखको सबै प्लाइउड नोक्सान भएको र कुलोको पानी सबै फर्केर घरपसलमा पुगेको उहाँको भनाइ छ ।
इलाका प्रहरी कार्यालय बुटवलका डिएसपी विजयराज पण्डितले वर्षातकै सुरुमै यस्तो समस्या नाली थुनिएरै भएकाले सचेत रहनुपर्ने बताउनुभयो । बुटवल उपमहानगरका मेयर खेलराज पाण्डेले फूलबारी क्षेत्र, रासस कार्यालय वरिपरि र न्यू होराइजन स्कुल क्षेत्रमा रातीदेखि परेको ठूलो पानीका कारण डुबानमा परेको र अधिकांश ठाउँमा अहिले कम भइसकेको जनाउनुभयो ।







प्रतिक्रिया राख्नुहोस्