जाजरकोट भूकम्पको ६ महिना : ३४ हजार ७ सय अस्थायी आवास निर्माण
जाजरकोट । बारेकोटको रामीडाँडा केन्द्रबिन्दु भएर भूकम्प गएको छ महिना पुगेको छ । कुल ४२ हजार ५२४ लाभग्राही रहेकोमा अहिलेसम्म ३४ हजार ७ सय अस्थायी आवास निर्माण गरिएको छ ।
संघसंस्थाहरुले एक हजार ९५४ अस्थायी आवास निर्माण गरेका छन् भने पालिका वा सरकारी पक्षले ३२ हजार ५२६ अस्थायी आवास निर्माण गरेका छन् । दोस्रो किस्ताका लागि ३८ हजार ६०३ जना भूकम्प पीडितको दोस्रो किस्ताका लागि विपद् पोर्टलमा इन्ट्री गरिएको जिल्ला प्रशासन कार्यालय जाजरकोटको तथ्याङ्कमा छ ।
प्रशासनको तथ्याङ्क अनुसार पहिलो किस्ताका लागि ४० हजार ३८४ भूकम्प पीडितले पालिकासँग सम्झौता गरेका छन् । अझै केही भूकम्प पीडितले सम्झौता गर्न सकेका छैनन् । भूकम्प गएको छ महिना सम्म दोस्रो किस्ता रकम नपाउँदा भूकम्पपीडित चिन्तित भएका छन् । सरकारले दिएको पहिलो किस्ता रकम र साहुबाट कर्जा लिएर आवास निर्माण गरेका सर्वसाधारणले छ महिनासम्म दोस्रो किस्ता नपाएपछि आवास निर्माणको ऋण तिर्न पीडितलाई समस्या भएको छ ।
कात्तिक १७ गतेको भूकम्पले घरबारविहीन भएका पीडितलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न पहिलो किस्ता बापत सरकारले २५ हजार प्रदान गरेको थियो । भेरी नगरपालिका–१, रावत गाउँकी विर्मी खड्काले दोस्रो किस्ता रकम पाएपछि ऋण तिरौँला भनेर आवास निर्माण गरिए पनि दोस्रो किस्ता नपाएपछि समस्या भएको बताउनुभयो ।
जाजरकोटका अधिकांश भूकम्प पीडितहरूमा यो समस्या थपिएको छ । ऋण काढेर अस्थायी आवास निर्माण गरेका पीडितहरूलाई साहुले पैसा मागेपछि समस्या भएको हो ।
तर अहिले भूकम्पको ६ महिना पुग्दा समेत दोस्रो किस्ता पाउन सकेका छैनन् । दोस्रो किस्ता नआउँदा साहुको धम्की समेत सहनुपरेको कुशे गाउँपालिका —०४ का कालीबहादुर शाहीले बताउनुभयो । दोस्रो किस्ताका लागि गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले अस्थायी आवास निर्माण कार्यविधि २०८० बमोजिम विपद् पोर्टलमा इन्ट्री गर्नुपर्छ । अहिले यहाँका स्थानीय तहहरू विपद् पोर्टलमा भूकम्प पीडितको नाम सवमिट गर्न व्यस्त छन् ।
प्रतिक्रिया राख्नुहोस्