तपाईँ सुन्दै हुनुहुन्छः

समयलाई चिनेर दौडिए मात्र लक्ष्यमा पुग्न सकिन्छ: मुख्यमन्त्री  कँडेल

काँर्केबिहार (सुर्खेत) । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले समयलाई चिनेर दौडिए मात्र लक्ष्यमा पुग्न सकिने बताउनुभएको छ । 

प्रदेश राजधानी सुर्खेतको वीरेन्द्रनगरमा रेस नेपालले आज आयोजना गरेको कर्णाली हाफ म्याराथन प्रतियोगिताको उद्घाटन गर्दै उहाँले खेलकुद मात्र नभई हरेक ठाउँमा समयलाई चिनेर दौडिएमा मात्र सही गन्तव्यमा पुग्न सकिने बताउनुभयो । 

कर्णालीमा हुने १०औँ राष्ट्रिय खेलकुद प्रतियोगितालाई लक्षित गर्दै समयमै सम्पन्न गर्न दबाब स्वरूप यो प्रतियोगिताको आयोजना भएको आफूलाई लागेको मुख्यमन्त्री कँडेलले बताउनुभयो । कर्णालीको विकासलाई माग आकाङ्क्षाभन्दा पनि स्रोतसाधनको उपलब्धताका आधारमा कार्ययोजना बनाई काम गरिने उहाँको भनाइ छ । 

त्यस्तै, सामाजिक विकासमन्त्री वीर बहादुर शाहीले १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिताले कर्णालीलाई चिनाउने अभियानका लागि सुनौलो समय भएको बताउनुभयो । कर्णालीले पनि खेलकुदमा भारी मात्रामा काम गर्न लागेको छ भन्ने सन्देश दिएको उहाँको भनाइ छ । 

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा खेलकुदका माध्यमबाट कर्णाली चिनाउने अवसरका रुपमा पनि यसलाई लिइएको उहाँले दाबी गर्नुभयो । धावक हरिबहादुर रोकायप्रति सम्मान व्यक्त गर्दै यस्तै खालका खेलाडी उत्पादनमा कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयको जोड रहेको उहाँको भनाइ छ । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button