तपाईँ सुन्दै हुनुहुन्छः

आठौँ संस्करणको पोखरा स्पोर्टस अवार्ड सम्पन्न

पोखरा । पोखरामा शुक्रबार साँझ आठौँ संस्करणको पोखरा स्पोर्टस अवार्ड सम्पन्न भएको छ । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आयोजना गरेको उक्त अवार्डमा स्पेसल अवार्ड सहित ८ विधामा खेलाडी, प्रशिक्षक सहित पत्रकार र खेल संघ संस्थालाई सम्मान गरिएको हो ।

पोखरा सभागृह हलमा विभिन्न सांस्कृतिक कार्यक्रमका बिच भएको उक्त अवार्ड वितरण कार्यक्रममा यस वर्षको लाइफ टाइम अचिभमेन्ट अवार्ड एथलेटिक्स प्रशिक्षक इन्द्रा मल्ललाई अर्पण गरिएको मञ्चका उपाध्यक्ष एवं सहसंयोजक सुरज श्रेष्ठले बताउनु भयो । मल्ललाई चाँदीको करुवा, ट्रफी, ताम्रपत्र र दोसल्लाले सम्मान गरिएको हो ।

त्यसै गरी उक्त अवार्ड कार्यक्रम अन्तरगत वर्ष खेलाडी पुरुषको उपाधि क्रिकेटका अर्जुन कुमालले जित्न सफल हुनु भयो । यो विधाको मनोनयनमा कुमालसँगै टेनिसका प्रदीप खड्का र भलिबलका हिमाल सुनारी मनोनयनमा पर्नु भएको थियो । वर्ष खेलाडी महिला विधाको अवार्ड आइटिएफ तेक्वान्दोकी सुस्मिता थापा मगरले हात पार्नु भयो । यो विधामा सुस्मितासँगै आर्चरीकी अनुस्का शेरचन, भलिबलकी अरुणा शाही मनोनयनमा पर्नु भएको थियो । वर्ष खेलाडी पुरुष र वर्ष खेलाडी महिला हुन सफल खेलाडीले टेल्जी ब्रान्डको इलेक्ट्रिक स्कुटर र अवार्ड हात पार्न सफल हुनु भएको हो ।

१७ वर्ष मुनिका खेलाडीबीच प्रतिस्पर्धा भएको उदयमान खेलाडी विधाको अवार्ड ब्याडमिन्टनकी दिलासा रानाको पोल्टामा पर्‍यो । राना सहित क्रिकेटकी ज्योत्सनिका मरासिनी र एथलेटिक्सका बादल कार्की यो विधाको मनोनयनमा पर्नु भएको थियो ।

वर्ष उत्कृष्ट प्रशिक्षक विधामा भलिबलका रमेश केसी अब्बल सावित हुनु भयो । केसी सहित टेनिसका नीरज थापा र क्रिकेटका रिजन प्रजु  मनोनयनमा पर्नु भएको थियो । वर्ष उत्कृष्ट उदीयमान खेलाडी र वर्ष उत्कृष्ट प्रशिक्षक तर्फका विजेताले नगद ३५ हजार रुपैयाँको साथमा ट्रफी प्राप्त गर्नु भयो । उत्कृष्ट ३ को मनोनयन सूचीमा परेकाहरूलाई मनोनयन ट्रफी र प्रमाणपत्र प्रदान गरिएको थियो ।

वर्ष उत्कृष्ट खेल पत्रकारतर्फको अवार्ड रोहितराज पराजुलीलाई अर्पण गरियो ।  वर्ष उत्कृष्ट खेलकुद सङ्घसंस्था वा क्लब र वर्ष उत्कृष्ट पत्रकार तर्फका अवार्ड विजेताले नगद ३५ हजार रुपैयाँको साथमा अवार्ड प्राप्त गर्नु भएको हो ।

यसैगरी ओलम्पियन खेलाडी नारायण गुरुङ र टेनिसको अन्तर्राष्ट्रिय वरियता प्राप्त खेलाडी अभिषेक बास्तोलालाई विशेष ९स्पेसल० अवार्डबाट सम्मान गरिएको मञ्चका अध्यक्ष एवं कार्यक्रम संयोजक दीननाथ बरालले बताउनु भयो । खेलाडीहरूको प्रोत्साहन गर्दै अग्रजलाई सम्मान गर्ने उद्देश्यले उक्त कार्यक्रमलाई निरन्तरता दिँदै आएको उहाँले जनाउनु भयो ।  

अवार्ड विजेता तथा मनोनयनमा पर्न सफल सबै जनालाई गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारी, आर्थिक मामिलामन्त्री हरिबहादुर चुमान, भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री सिता कुमारी सुन्दास, सामाजिक विकास तथा स्वास्थ्य मन्त्री सीता सुन्दास, पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, उपप्रमुख मञ्जुदेवी गुरुङ, राखेप बोर्ड सदस्य राजेश कुमार गुरुङ, प्रदेश खेलकुद परिषद्का उपाध्यक्ष ध्वज कुमार गुरुङ, सदस्य सचिव श्रीधर शर्मा, नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रमुख नवीन पोखरेल, पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठ, मञ्च गण्डकीका अध्यक्ष दीननाथ बराल लगायतले अवार्ड र मनोनयन ट्रफी सहितका पुरस्कार हस्तान्तरण गर्नु भएको महासचिव राजाराम पौडेलले जनाउनु भयो ।

अवार्ड कार्यक्रममा चर्चित गायक प्रकाश सपुतको प्रस्तुतिमा दर्शकले भरपूर्ण मनोरञ्जन लिनु भएको थियो । उहाँले आफ्ना चर्चिन गीत सुनाउँदै माहोल रमणीय बनाउँदा अतिथि सहित दर्शकलाई नचाउनु भएको हो । सपुतका सहित गायक सन्तोष बस्याल, निर्मल दाहाल, नृत्यतर्फ तरेली साँस्कृतिक परिवारको लाठी, कौरा र झ्याउरे नृत्यले समेत अवार्ड कार्यक्रममा रौनकता थप्यो ।

अवार्ड कार्यक्रममा गण्डकी प्रदेश सरकारको विशेष सहयोग, प्रदेश खेलकुद परिषद् गण्डकी समन्वय, पोखरा महानगरपालिकाको सहकार्यमा राष्ट्रिय खेलकुद परिषद्को सहयोग र नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालय प्रबद्र्धकमा रहेको थियो । उदीयमान खेलाडीको पुरस्कार सहारा क्लब पोखरा, उत्कृष्ट खेलकुद सङ्घसंस्था वा क्लब तर्फको पुरस्कार टाइगर गुप्र अफ पोखरा नेपाल, वर्ष उत्कृष्ट खेल पत्रकारको पुरस्कार स्व। सेनानी हेमबहादुर पुनको परिवार, लाइफ टाइम अचिभमेन्ट अवार्ड सुपर मादी हाइड्रो पावर लिमिटेडले प्रायोजन गरेका हुन् ।

यसका अलावा टेल्जी ब्रान्डको इलेक्ट्रिक स्कुटरको आधिकारिक विक्रेता योमाई मोर्टस् प्रा।लि।, साहस स्पोर्ट्स प्रालि, गण्डकी प्रज्ञा–प्रतिष्ठान, केसी ग्रुप-आभ्या क्लब, मादी गाउँपालिका, बुमर्‍याङ रेस्टुरेन्ट लेक साइड, सिटीजन फर्निचर, परिचय एड्भटाइजिङ, एम.ए कन्स्ट्रक्सन प्रालि, पूर्व नेपाली राष्ट्रिय महिला भलिबल उपकप्तान मञ्जु गुरुङ, नेपाल भूतपूर्व खेलाडी मञ्च लगायतबाट सहयोग प्राप्त भएको थियो ।

अवार्ड वितरण गर्न रोहितराज पराजुलीको संयोजकत्वमा प्रतिभा छनोट समिति निर्माण गरिएको थियो । जसको सदस्यमा प्रदेश खेलकुद परिषद्का सदस्य केशव पाठक, मञ्चका पूर्व सल्लाहकार सुदर्शन रन्जित तथा मञ्चका सदस्यहरु विजय नेपाली, धन बहादुर गुरुङ सुमन र रिखिराम जिसी सदस्य रहनु भएको थियो ।

यसैगरी उत्कृष्ट खेल पत्रकार छनोट समितिको संयोजकमा मञ्चका पूर्व अध्यक्ष विनोद लामिछाने रहनु भएको थियो । यो समितिको सदस्यमा पत्रकार महासङ्घ गण्डकी प्रदेश महासचिव गोविन्द सुवेदी, पत्रकार महासङ्घ कास्की अध्यक्ष विमला भण्डारी, पूर्व पुरस्कृत सागरराज तिमिल्सिना, मञ्चका सदस्य उमेश पुन सदस्य रहनु भएको थियो । दुवै समितिको पदेन सदस्यमा मञ्चका अध्यक्ष दीननाथ बराल र महासचिव राजाराम पौडेल रहनु भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button