उत्तरी गोरखामा गहुँ थन्क्याउन चटारो

गोरखा । उत्तरी गोरखाका महिलाहरूलाई गहुँ काट्ने चटारो परेको छ । गत कात्तिक महिना छरेको गहुँ वैशाखमा पाक्न सुरु भएपछि यती बेला यहाँका महिलालाई गहुँ काट्ने चटारो परेको हो । यहाँका पुरुषहरू भेडा गोठालो लगायत अझै श्रम गर्नुपर्ने काममा खट्ने भएकोले बालीनाली थन्क्याउने काममा महिलाहरूको सङ्ख्या उल्लेख्य रहने गरेको छ ।
असिना पानी परेर पाकेको गहुँ चुट्छ कि भन्ने डरले यती बेला यहाँका महिलाहरू बिहान दिउँसो गहुँ भित्र्याउने काममा निकै व्यस्त हुने गरेका छन् ।
असिना पानीले गहुँ झराउँछ की भन्ने डरले बिहान दिउँसो गहुँ भित्र्याउन निकै हतार भएको चुमनुब्री गाउँपालिका वडा नम्बर ३ की कुमारी गुरुङले बताउनुभयो ।
उहाँले भन्नुभयो, “कात्तिक लगाएको खेती वैशाखको दोस्रो सातादेखि पाक्न थालेको छ । यो पाकेको बाली भित्र्याउनकै लागि यती बेला बिहान दिउँसो बारीमै व्यस्त हुने गरेका हुन्छौँ ।’’
गहुँ टिपेपछि पहिले ग्याब्री (गहुँ चुट्नका लागि काठबाट बनाए सामग्री) को प्रयोग गरेर काम गर्दा ढिला हुने गर्दथ्यो । अहिले गाउँपालिकाले अनुदानमा थ्रेसर मेसिन उपलब्ध गराएसँगै सजिलो भएको अर्का किसान सोम बहादुर गुरुङ बताउनुहुन्छ । फिलिम आमा समूहले मेसिनको रेखदेख र प्रयोगमा सबैलाई सहजीकरण गरिरहेको छ । गहुँको बाला टिपेर मेसिनसम्म लाएर दाना निकालेर किसानहरुले घर लैजाने गरेको वडा नम्बर ३ का अध्यक्ष रामकुमार गुरुङले बताउनुभयो । प्रोकमा पनि मेसिन रहेको छ । माथिल्लो क्षेत्रमा सानो आकारको मेसिन रहेको उहाँले बताउनुभयो ।
गोरखाका महिलाहरूले हँसियाको भरमा गहुँ हातले टिप्ने गर्दछन् । अधिकांश महिला निगालाको सरेटाले (निगालाको दुई फिट जति लामो काठ) गहुँ समात्ने र त्यसपछि कम्मरमा राखेको आँसीले गहुँ काटेर डोकोमा राख्ने गर्दछन् ।
चुमनुब्री गाउँपालिकाको सिर्दीवास, फिलिम, पाती, चुम्लिङ, छेकम्पार, प्रोक, विही, ल्हो, सामागाउँ लगायतका क्षेत्रमा गहुँ वैशाखको दोस्रो हप्तामा पाक्न सुरु हुन्छ ।
जिल्लाको उत्तरी क्षेत्रमा रहेका भिरालो तथा पाखो ठाउँमा गहुँ उत्पादन हुन्छ । यहाँ किसानले पछिल्लो समय डब्लु के चार सय र स्वर्गद्वारी जातको गहुँ लगाउँछन् । अधिकांश किसानले भने पुरानो स्थानीय जातको नै गहुँ लगाउने गरेका छन् ।
गहुँ हिउँदे बाली भएकोले हिउँदमा हिमपात भएन भने उत्पादन घट्छ, हिमपात भएमा उत्पादन बढ्छ । पछिल्लो समय यहाँका किसानले उन्नत जातको गहुँको बीउको प्रयोग गर्नाले पनि उत्तरी गोरखामा गहुँ उत्पादनमा वृद्धि हुने गरेको छ ।
कृषि ज्ञान केन्द्र गोरखाका कृषि अर्थ विज्ञ सुमन भट्टराई का अनुसार पछिल्लो अपडेट तथ्याङ्कमा गोरखा जिल्लाको दुई हजार पाँचसय हेक्टर क्षेत्रफलमा गहुँ खेती हुने गरेको छ । उक्त क्षेत्रफलमा पाँच हजार ९२५ मेट्रिकटन उत्पादन हुने गरेको छ । कुल उत्पादकत्व २ दशमलब ३७ रहेको छ ।
कृषि ज्ञान केन्द्र गोरखाले अजिर कोट गाउँपालिकाको सिमजुङ र भीमसेन थापा गाउँपालिकाको बोर्लाङका किसानहरूलाई १०० रोपनी क्षेत्रफलका लागि आवश्यक मल, बिउ, हाते ट्याक्टर, थ्रेसर लगायतका आवश्यक सामग्रीहरु प्रदान गरेको वरिष्ठ प्राविधिक सहायक दिनकरमणी आचार्यले बताउनुभयो ।
उत्तरी क्षेत्रका किसानहरुले स्थानीय प्रजातिका गहुँ धेरै लगाउने गरेका छन् । उत्तरी क्षेत्रको बाली उत्पादन बढाउन आगामी वर्षको कार्यक्रममा विशेष योजना ल्याउने कृषि ज्ञान केन्द्र गोरखाकी प्रमुख वरिष्ठ बाली संरक्षण अधिकृत मिरा चौधरीले बताउनुभयो ।






प्रतिक्रिया राख्नुहोस्