प्रादेशिक परम्परागत लोक नृत्य प्रतियोगिता :बैतडीको छलिया नृत्य सर्वोत्कृष्ट
कञ्चनपुर। सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानको आयोजना तथा राष्ट्रिय तथा लोक दोहोरी गीत प्रतिष्ठान नेपाल कञ्चनपुर शाखाको सह-आयोजनामा सम्पन्न प्रादेशिक परम्परागत लोक नृत्य प्रतियोगितामा बैतडीको परम्परागत नृत्य शैली छलिया प्रथम भएको छ ।
“हाम्रो अभियान लोक संस्कृतिको संरक्षण स्रष्टाको सम्मान, नव प्रतिभाको प्रोत्साहन” भन्ने मूल नाराका साथ कञ्चनपुरको महेन्द्रनगर स्थित भीमदत्त पार्कमा सम्पन्न प्रादेशिक परम्परागत लोक नृत्य प्रतियोगितामा कैलालीको कठरिया नृत्य द्वितीय, कञ्चनपुरको रानाथारु होली नृत्य तृतीय स्थान प्राप्त गर्न सफल भएको राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल कञ्चनपुर शाखाका कोषाध्यक्ष मासुम बिष्टले जानकारी दिनुभयो ।
सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा.टि. एन जोशीले सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानलाई संस्कृति, भाषा, साहित्य तथा कला प्रेमीहरूको साझा एकेडेमी बनाउनका लागि यस प्रकारको कार्यक्रम आयोजना गरिएको बताउनु भयो ।
प्रदेश सभा सदस्य माया पन्तले सुदूरपश्चिमको मौलिक कला, संस्कृतिलाई संरक्षण र प्रवर्द्धन गर्न सबैले सकारात्मक भूमिका खेल्नुपर्नेमा जोड दिनुभयो । उहाँले सुदूरपश्चिमका केही रूढिवादी परम्पराका रूपमा रहेका सामाजिक विकृतिहरूलाई हटाउन आवश्यक रहेको बताउनु भयो ।
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल कञ्चनपुर शाखाका अध्यक्ष लालबहादुर धामी अछामी (बड्डो) ले सुदूरपश्चिमका नौ वटै जिल्लाको लोक संस्कृति जगेर्ना गर्न प्रतियोगिताको आयोजना गरिएको बताउनुभयो । साथै उहाँले आगामी दिनमा सुदूरपश्चिमका सबै जिल्लामा यस्ता प्रतियोगिता आयोजना गरिनुपर्नेमा समेत जोड दिनुभयो ।
कार्यक्रममा डडेलधुराको रुपाली होली नृत्य र बझाङको देउडाले सान्त्वना स्थान प्राप्त गरेको प्रतियोगिताका प्रथम, द्वितीय, तृतीय र सान्त्वना स्थान प्राप्त गर्न सफल टिमहरूलाई क्रमशः रु २० हजार, १५ हजार, १० हजार र ७ हजार रकम प्रदान गरिएको छ । साथै सहभागी अन्य टिमहरूलाई नगद रु ४ हजार ९४ सहित सहभागिताको प्रमाण पत्र समेत प्रदान गरिएको कोषाध्यक्ष बिष्टले बताउनुभयो ।
सुदूरपश्चिमका नौ वटै जिल्लाबाट सहभागिता रहने गरी आयोजित प्रतियोगितात्मक कार्यक्रममा कला, संस्कृतिको क्षेत्रमा योगदान पुर्याउने विभिन्न व्यक्तिहरूलाई सम्मान समेत गरिएको थियो ।








प्रतिक्रिया राख्नुहोस्