इलामको रोङ गाउँपालिकामा चैत्र ३० गते देखि पर्यटन महोत्सव हुने
इलाम । इलामको रोङ गाउँपालिकामा पर्यटन महोत्सव हुने भएको छ । आगामी चैत्र ३० गते बाट वैशाख ६ गते सम्म रोङ पर्यटन तथा कृषि महोत्सव रोङ उद्योग वाणिज्य सङ्घले आयोजना गर्न लागेको हो ।
पर्यटन प्रवर्द्धन तथा कृषि क्षेत्रको विकास तथा रोङ चिनारीको निम्ति महोत्सव सञ्चालन गर्न लागिएको पत्रकार सम्मेलनमा रोङ उद्योग वाणिज्य संघका अध्यक्ष नगेन्द्र राईले जानकारी दिनु भयो ।
स्थानीय उत्पादनको बजारीकरणका साथै धार्मिक र पर्यापर्यटनको प्रवर्द्धनका लागि हुने महोत्सवमा राष्ट्रिय कलाकार यम बराल, मेलिना राई विल्सन विक्रम राई लगायतका ख्याति प्राप्त कलाकारको प्रस्तुती रहने आयोजक समितिका अध्यक्ष राईले जानकारी दिनु भयो । महोत्सव सञ्चालनका लागि आयोजकले २२ लाख खर्च हुने अनुमान गरेको छ ।
रोङ गाउँपालिकाको अर्ग्यानिक उत्पादन महोत्सवको आकर्षणको रुपमा रहने र गाउँपालिकाको गुन्द्रुक, बेसार, सिस्नो लगायतका स्थानीय स्तरमा उत्पादित बस्तुहरूको प्रवर्द्धनका लागि महोत्सव सञ्चालन हुने रोङ गाउँपालिका उपाध्यक्ष विष्णुमाया खवासले बताउनु भयो । महोत्सवले रोङ गाउँपालिकाको धार्मिक तथा अन्य पर्यटकीय क्षेत्रको प्रवर्द्धनमा समेत टेवा पुग्ने उपाध्यक्ष खवासको भनाई छ ।
नेपालको लोपोन्मुख लेप्चा जातिको भाषाबाटै रोङ गाउँपालिकाको नाम समेत राखिएको र उनीहरूको कला संस्कृति समेत आकर्षणको पाटो रहने रोङ गाउँपालिका–३ का वडाध्यक्ष मातृका बरालले बताउनु भयो ।
रोङ उद्योग वाणिज्य सङ्घको आयोजनामा हुने महोत्सवलाई गाउँपालिकाले संरक्षकत्व प्रदान गरेको छ । महोत्सव अवधिभर १ लाख भन्दा बढिले भ्रमण गर्ने आयोजकको भनाई छ । रोङ गाउँपालिकामा प्रसिद्ध पाथीभरा मन्दिर पनि रहेको छ जहाँ दैनिक हजारौँ भक्तजन दर्शनको लागि पुग्ने गर्छन् ।
प्रतिक्रिया राख्नुहोस्