सुशासन प्रवद्र्धन गर्न सूचना प्रविधि केन्द्र
कैलाली-धनगढी उपमहानगरपालिका – १७ मा सूचना प्रविधि केन्द्र सञ्चालनमा आएको छ । उपमहानगरपालिकाका प्रमुख नृपबहादुर वड र क्यानडा सरकारका प्रतिनिधि जेनेट गडले बुधबार संयुक्त रुपमा सो केन्द्रको शुभारम्भ गर्नुभयो । केन्द्रमा स्थानीयले उपमहानगरपालिकामा शुरु गरेको पूर्वाधार व्यवस्थापन प्रणाली (आइएमएस) को प्रयोग गर्न पाउने व्यवस्था गरिएको छ ।
यस प्रणालीले उपमहानगरपालिकामा सञ्चालन हुने विस्तृत योजना, योजनाको गुणस्तर तथा प्रभावकारिता, भौतिक र वित्तीय प्रगतिबारे ‘मोबाइल एप्स’ मार्फत जानकारी प्राप्त गर्न सकिने र सुशासन प्रवद्र्धनमा टेवा पुग्ने विश्वास गरिएको छ ।
नगरवासीको सजिलोका लागि सबै वडामा सूचना प्रविधि केन्द्र विस्तार गर्दै लैजाने सो अवसरमा नगर प्रमुख वडले जानकारी दिनुभयो ।
क्यानडा सरकारका प्रतिनिधि गडले सूचना प्रविधि केन्दले उपमहानगरपालिकाको सुशासन अभिवृद्धिमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । धनगढी उपमहानगरपालिका–१५ र उपमहानगरपालिकाको कार्यालयमा क्यानडा सरकारको सहयोगमा सेसी परियोजनाअन्तर्गत सूचना प्रविधि केन्द्र यसअघिनै सञ्चालनमा छन् ।
करेसाबारी प्रवद्र्धन उपमहानगरपालिकाले तरकारी आयात रोक्न करेसाबारी प्रवद्र्धनात्मक कार्यक्रम शुरुआत गरेको छ । नगरवासीलाई निःशुल्क तरकारीको बीउ वितरणदेखि कृषि प्रविधि हस्तान्तरण गर्ने कार्य रहेका छन् । उपमहानगरपालिकाले नगरवासीलाई कृषि परामर्श दिन लागि वडा तहमा प्राविधिक खटाएको जनाएको छ ।
कृषि महाशाखा प्रमुख लोकराज उपाध्यायले करेसाबारी प्रवद्र्धनका लागि १० हजार घरधुरीमा तरकारीको बीउ, ७५ वटा समूहलाई बीउबजन, नौवटा समूहलाई बीउबिजन, पम्पसेट, स्प्रेयर र तरकारी राख्ने क्रेट निःशुल्क उपलब्ध गराएको जानकारी दिनुभयो ।
त्यस्तै युवा लक्षित कार्यक्रमअन्तर्गत ३३ समूहमा बीउबिजन र संरचना निर्माणका लागि नगद पैशासमेत उपलब्ध गराएको बताइएको छ । उपमहानगरपालिकाका नगरप्रमुख नृपबहादुर वडले करेसाबारीलाई प्रवद्र्धन गर्नसकेमा भारतबाट नेपालमा भित्रिने विषक्त तरकारीलाई न्यूनीकरण गर्न सकिने बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्