एकदिवसीय क्रिकेटमा नेपालको विश्व कीर्तिमान

काठमाडौं । नेपालले अमेरिकालाई एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा ३५ रनमा अलआउट गर्दै विश्व कीर्तिमान बराबर गरेको छ ।
आईसीसी विश्वकप क्रिकेट लीग–२ को त्रिकोणीय श्रृंखलाको अन्तिम खेलमा नेपालले अमेरिकामाथि कीर्तिमानी जित हात पारेको हो । कीर्तिपुरमा अमेरिकालाई सबैभन्दा कम स्कोर ९३५० मा समेटेको विश्वकीर्तिमान बराबरी गरेको नेपालले ६ औं ओभरमै जित हात पारेको हो।
नेपालले २ विकेट गुमाएर ५ ओभर २ बलमा जित हात पारेको हो। पारस खड्काले छक्का प्रहार गर्दै नेपाललाई लीगमा दोस्रो जित दिलाएका हुन् । ३६ रनको लक्ष्य पाएको नेपालको शुरुआत भने राम्रो हुन सकेन । कप्तान ज्ञानेन्द्र मल्ल र सुवाष खकुरेल २ रन जोडदा आउट भए। दिपेन्द्रसिंह ऐरीले ११ बलमा १५ र पारस खड्काले १२ बलमा २० रन नटआउट बनाए।
विश्वकप लीग – २ मा नेपालको यो दोस्रो जित हो। दुबै जित नेपालले अमेरिकामाथि पाएको हो। लीगको पुछारबाट दोस्रो स्थानमा रहेको नेपालले ४ अंक जोडेको छ। लीगको शीर्ष स्थानमा भने ओमान रहेको छ।
नेपालले यो कीर्तिमान श्रीलङ्काले सन् २००४ मा जिम्बाब्वेलाई ३५ रनमा सीमिति पारेर बनाएको कीर्तिमान बराबरी बनाएको हो ।
तर जिम्बाबेले १८ ओभर खेलेको थियो भने अमेरिकाले १२ ओभर मात्रै खेल्यो। यो सबैभन्दा कम बलमा विपक्षी टोलीलाई आउट गरेको नयाँ कीर्तिमान हो। यसअघि यो कीर्तिमान अफगानिस्तानले सन् २०१७ मा जिम्बाबेलाई १३।५ ओभरमा ५४ रनमा अलआउट गरेर बनाएको थियो।
लामिछानेले छ ओभर बलिङ गर्दै १६ रन दिएर छ विकेट लिए। यो नेपाली खेलाडीको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा राम्रो बलिङ हो।
भारीले तीन ओभरमा पाँच रन दिँदै चार विकेट लिए जुन नेपाली खेलाडीको तेस्रो राम्रो बलिङ हो।
अमेरिकाका लागि ओपनर जाभियर मार्शलले १६ रन बनाए भने अन्य कुनै पनि खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन्।
यसअघि भएको अर्को खेलमा पनि नेपालले अमेरिकालाई हराएको थियो। तर ओमानसँग भएका दुई खेलमा नेपाल पराजित भएको थियो।








प्रतिक्रिया राख्नुहोस्