तपाईँ सुन्दै हुनुहुन्छः

कावासोती आठका ३२ विपन्न घरधुरीलाई निःशुल्क धारा   

नवलपुर । नवलपरासी पूर्वको नगरपालिका कावासोती आठका ३२ विपन्न घरधुरीलाई निःशुल्क  धारा  जडान गर्न मोटर वितरण गरिएको गरिएको छ । 

कावासोती आठ नम्बर वडा र कावासोती खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको सहकार्यमा वडामा रहेका विपन्न घरधुरीलाई निःशुल्क धारा जडान गर्न लागिएको हो । 

अध्यक्ष भीम बहादुर रिमाल ( गोकर्णको ) अध्यक्षतामा आज वडा कार्यालयमा एक कार्यक्रमको आयोजना गरेर  निःशुल्क मोटर वितरण गरिएको हो । 

वडाबाट सूचना प्रकाशन गरि धारा जडान गर्न नाम माग गरिएको थियो । जसमा ३२ जनाले  फारम भरेका थिए । फारम भरेका सबै ३२ घरलाई नै आज निःशुल्क मोटर वितरण गरिएको हो । 

कार्यक्रममा बोल्दै अध्यक्ष रिमालले सदरमुकाम र राजमार्गसँग जोडिएको वडा  भएर पनि शुद्ध खानेपानीबाट बञ्चित भएका वडा बासीलाई शुद्ध  खानेपानीको पहुँच हुनुपर्छ भन्ने उद्देश्यले वडाले बजेट विनियोजन गरेर धारा जडान गर्न आवश्यक सामाग्री प्रदान गरेको बताउनुभयो । उहाँले वडामा रहेका २५ सय ९५ घरधुरीमध्ये ४४ घरधुरी शुद्ध खानेपानीबाट बञ्चित रहेको जानकारी प्राप्त भएको भए पनि यसपटक ३२ जनाले मात्रै फारम भरेको हुनाले सबै जनालाई निःशुल्क धारा जडान गर्न मोटर वितरण गरिएको र बाँकी रहेका परिवारलाई पनि यस कार्यमा समावेश गरिने बताउनुभयो । 

कावासोती खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका अध्यक्ष दीपकराज लम्सालले , धारा जडान गर्न १५ हजार ९ सय २५ रुपैयाँ शुल्क रहेकोमा १० हजार रुपैयाँ कावासोती खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था र बाँकी रकम आठ नम्बर वडाबाट सहकार्य  गरेर,  धारा जडान गर्न नसक्ने विपन्न परिवारलाई धारा जडान गर्ने कार्य थालनी भएको जानकारी दिनुभयो । ३२ घरधुरीलाई  धारा जडान गर्ने कार्य पनि खानेपानीबाट निःशुल्क गरिने उहाँले  जानकारी दिनुभयो । धारा जडान गर्न पनि करिब चार हजार रुपैयाँ खर्च हुने उहाँले बताउनुभयो । 

आठ नम्बर वडाको बन्देउरी क्षेत्रका बासिन्दा शुद्ध खानेपानीबाट बञ्चित रहेका थिए । त्यहाँ खानेपानीको पाइपलाइन समेत अहिले विस्तार गरिएको लम्सालले जानकारी दिनुभयो । त्यस क्षेत्रका बासिन्दालाई शुद्ध खानेपानी पुर्‍याउनका लागि संस्थाले करिब पाँच लाख खर्च गरेको उहाँले जानकारी दिनुभयो । 

कार्यक्रममा वडा सदस्यहरू भवि प्रसाद भट्टराई ,  केशमाया बिक, भीमकला सापकोटा, कावासोती खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका उपाध्यक्ष विन्दु ढकाल, लेखा समिति सदस्य नारायणी शर्माको सहभागिता रहेको थियो । 

कार्यक्रममा वडा सदस्य मनोज कुमार रेश्मी मगरले सहजीकरण गर्नुभएको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button