१७ घण्टामा महाकाली–मेची मोटरसाइकल यात्रा

भद्रपुर । इच्छाशक्ति भए असम्भव लाग्नसक्ने विषयमा पनि सफलता प्राप्त गर्न सकिन्छ भन्ने दरिलो उदाहरण प्रस्तुत गरेका छन् काठमाडौंका एक युवाले ।
काठमाडौं चावहिल निवासी युवा प्रत्युस कुइँकेलले नेपालको पश्चिीमी प्रवेशद्वार महाकालीको महेन्द्रनगरबाट पूर्वी प्रवेशद्वार झापाको काँकरभिट्टासम्मको दूरी मोटरसाइकलमा १७ घण्टा ३० मिनेटमा पार गरेर शाहस प्रदर्शन गर्नुभएको हो ।
मोटरसाइकल राइडिङका सौखिन २६ वर्षे कुइँकेलले सोमबार विहान ठीक ४ बजे महाकालीको महेन्द्रनगरबाट मोटरसाइकल यात्रा शुरु गरी राति साढे ९ बजे काँकरभिट्टा आइपुगेको बताउनुभयो । विभिन्न देशमा मोटरसाइकल राइडिङ प्रतियोगितामा समेत सहभागी हुँदै आएका कुइँकेल सामाजिक अभियान लिएर यात्रामा निस्कनु भएको थियो ।
यात्राका क्रममा विभिन्न संघ–संस्थाले आर्थिक तथा जिन्सी सहयोग गरेको बताउँदै उहाँले सहयोग रकमबाट २५ जना दृष्टिविहीनलाई सेतो छडी उपलब्ध गराउने जानकारी दिनुभयो ।
उहाँले यो यात्रामा ओमेगाको जीपीएक्स २२० रेसिङ मोटरसाइकल प्रयोग गर्नुभएको छ । उहाँलाई ओमेगाले मोटरसाइकल उपलब्ध गराएको हो । कपुरी ब्रदर्सका सञ्चालक प्रकाश कपुरी र किरण कपुरीले पनि आफ्नो यो यात्रामा उल्लेख्य सहयोग पुर्याएको उहाँले बताउनुभयो ।
आज पनि रोयल इनफिल्ड र बुद्ध इन्टरप्राइजेजले मोटरसाइकलको विर्तामोडस्थित कार्यालयले दृष्टिविहीनलाई सेतो छडी वितरणका लागि आर्थिक सहयोग गरेको उहाँले बताउनु भयो । कुइँकेल नेपाल मोटरसाइकल महासंघको सदस्य पनि हुनुहुन्छ ।








प्रतिक्रिया राख्नुहोस्