तपाईँ सुन्दै हुनुहुन्छः

सडक विस्तारसँगै सुनसान बन्दै गाउँ

बागलुङ । हिजोआज सडक नपुगेका बस्ती छैनन् । कच्ची भए पनि गाउँमा सडक पुगेपछि दिनदिनै मोटर गाडी गुड्छन् । मोटर गुड्न सडक गाउँसम्म विस्तार भएपछि पहिले हिँड्ने गोरेटो बाटोमा वनमारा पलाउनुका साथै काँडा उम्रिएका छन् । कुनै समय मानिस र वस्तुभाउ हिँड्ने गोरेटो अहिले सुनसान जस्तै बनेका छन् ।

बागलुङको दुर्गम मानिने ढोरपाटन क्षेत्रमा पनि अहिले धेरै ठाउँमा सडक पुगेको छ । एक दशक अगाडि पर्यटक तथा भक्तजनको घुइँचो हुने फल्लेघरबाट देउरालीसम्मको गोरेटो बाटो अहिले झाडी बन्न थालेको छ । योसँगै जिल्लाका ग्रामीण क्षेत्रमा रहेका सयौँ गोरेटो बन्द हुँदै गएका छन् ।

ढोरपाटन नगरपालिका–९ का वीरबहादुर सुनारले सुविधाले पुराना गोरेटो मासिएको बताउनुभयो । सडकले धेरै ठाउँका गोरेटो बाटो मासेको भन्दै भएका ठाउँमा पनि कोही नहिँड्ने उहाँको भनाइ छ ।

सुनारले पाका पुर्खादेखि हिँड्दै आएका बाटोलाई विकासले ओझेलमा पारेको भन्दै पुराना गोरेटोलाई पदमार्गका रुपमा विकास गर्नुपर्ने बताउनुभयो । विकासका नाममा जथाभाबी सडक निर्माण हुँदा गोरेटोसहित पुराना मौलिक सम्पदासमेत मासिएको उहाँको भनाइ छ ।

“हाम्रो पालामा मोटर गाडी थिएनन् । अहिलेको जस्तो यति ठूला सडक पनि थिएनन् । बटौली, तानसेन पुगेपछि मात्रै गाडी देख्न पाइन्थ्यो । साँघुरो बाटोमा यात्रा गर्थ्यौँ । उतिबेला हामीहरू हिँडेका बाटो अचेल बन्द छन्”, सुनारले भन्नुभयो, “कतै मोटरबाटोले पुरिएका, कतै अप्ठ्यारा बनेका छन् । ती गोरेटोहरू प्रयोगविहीन भएका छन् । सरकारले पुरानो बाटोलाई व्यवस्थित पदमार्ग बनाउन सके बाहिरबाट आउने आगन्तुकलाई सहज हुने थियो ।”

तमानखोला गाउँपालिका–१ का जितबहादुर घर्तीले मोटरबाटोले मान्छेलाई अल्छी बनाएको बताउनुभयो । पहिले घण्टौँ लगाएर हिँड्नेहरू अहिले १० मिनेटको दूरीमा पनि गाडी चढ्न खोज्ने उहाँको भनाइ छ ।

मोटरबाटोले गोरेटो बाटोसँगै कुवा, पोखरी, पानीको मुहान र चौपारी सबै विनाश गरेको घर्तीले बताउनुभयो । पहिले बजारबाट सामान ढुवानी गर्न घोडा, खच्चड प्रयोग गर्ने गरेको स्मरण गर्दै उहाँले अहिले गाडीमा ओसारपसार गर्न थालेको बताउनुभयो ।

गोरेटो बाटो ग्रामीण जीवनशैलीसँग जोडिएको भए पनि अव्यवस्थित विकासले अस्तित्व नै धरापमा परेको घर्तीको भनाइ छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button