पर्यटकले रुचाएनन् कङ्क्रिट पदमार्ग
गलकोट-विश्व भेगन अर्गनाइजेशनमा आबद्ध २१ विदेशी पर्यटक घुम्नलाई दुई महिना अगाडि बागलुङ आउनुभएको थियो । एक रात बागलुङ बजार घुमेर जिल्लाको पहिलो घरवास अतिथि सत्कार घरवासमा पैदल यात्रा (पदमार्ग) मार्फत भकुण्डे पुग्नुभयो ।
जिल्लालाई भ्रमणको पहिलो रोजाइ बनाएका भेगनका पर्यटक त्यहाँ पुग्दा केही कमी भएको अनुभव गरेको प्रतिक्रिया दिनुभयो । पहिलेको ढुङ्गे (परम्परागत) पदमार्ग सडक विस्तारका क्रममा भत्काइएपछि अहिले पक्की (कङ्क्रिट) पदमार्ग निर्माण थालिएको छ । पर्यटन व्यवसायी महादेव शर्माले पर्यटकले पक्की पदमार्ग नरुचाउने बताउनुभयो ।
अन्नपूर्ण बेस क्याम्प पुग्ने पदमार्ग नयाँ मोटरबाटो निर्माणका कारण छोटो भएपछि त्यहाँ आउने पर्यटकलाई यहाँ ल्याउन थालिएको उहाँले जानकारी दिनुभयो । यहाँ पदयात्रा व्यवसायको सम्भावना भए पनि पुरानाको संरक्षण र नयाँ पदमार्गको पहिचान र निर्माण गर्नुपर्न व्यवसायी शर्माको जोड रहेको छ । बिना योजना खनिने ग्रामीण सडकका कारण पुराना पदमार्ग हराउने अवस्थामा पुगेको भन्दै पर्यटन व्यवसायीले चिन्ता व्यक्त गरेका छन् ।
परम्परागतभन्दा पक्की पदमार्ग खर्चिलो हुने, कम आकर्षण हुने र पदयात्रा गर्दा छिटो थाक्ने ट्रेकिङ व्यवसायी बताउँछन् । जिल्लामा सञ्चालित २८ वटा घरवासले समेत पूर्वाधार निर्माणअन्तर्गत धमाधम पदमार्ग निर्माण थालेका छन् । यसमा पनि पक्की ढलान सहितका बढी छन् । चर्चित पदमार्गका रुपमा रहेको अन्नपूर्ण आधार शिविर पुग्ने मार्ग सडकका कारण छोटिँदै गएपछि ट्रेकिङ व्यवसायी बिस्तारै बागलुङ, म्याग्दी तथा मुस्ताङतर्फ आकर्षित हुन थालेका छन् ।
जिल्लामा सबैभन्दा लामो पञ्चकोट हुँदै ढोरपाटन पुग्ने धौलागिरि चक्रीय पदमार्गको समेत पहिचान गरिएको छ । उक्त मार्गलाई अग्र्यानिक पदमार्गका रुपमा विकास गर्न सकिएमा यहाँ टे«किङ व्यवसायको राम्रो सम्भावना देखिन्छ । विश्व भेगन अर्गनाइजेशनसँग बागलुङ नगरपालिकाले संस्थागत रुपमा पर्यटक भित्र्याउन सहकार्य थालनि गरेको छ ।
उक्त समूहले अधिकांश क्षेत्रमध्ये बागलुङलाई पहिलो रोजाइमा पारेको भेगनले जनाएको छ । यहाँका पर्यटकीयस्थल ढोरपाटन, घुम्टेको धुरी, गाजाको दह, सर्वसिद्धिधाम पञ्चकोट पुग्ने पदमार्ग बिस्तारै नासिँदै गएको बागलुङ पर्यटन विकास समितिका अध्यक्ष राजु खड्काले जानकारी दिनुभयो । अहिले घुम्टे पुग्ने परम्परागत पदमार्ग मासेर ढलानको पदमार्ग बनाउन लागिएको छ ।
हाल चार किलोमिटरभन्दा बढी ढुङ्गे पदमार्ग रहेको घुम्टेमा धमाधम डेढ किलोमिटर सिमेन्टेड पदमार्ग निर्माण थालिएको हो । यसैगरी शिवधुरी सामुदायिक घरवास र तङ्ग्रामको फापरखेत सामुदायिक घरवास पुग्ने मार्गसमेत ढलान गरिएको छ । हाल यहाँको काठेखोला गाउँपालिकाको बिहुँ घोडाबाँधेदेखि लेखानी हुँदै गाजादह पुग्ने तथा रेसदेखि सत्यवती हुँदै गाजादह आउने मार्ग निर्माणले तीव्रता पाएको छ ।
पर्यटन मन्त्रालयको रु ४५ लाखको लागतमा मदन भण्डारी मार्ग निर्माण भइरहेको छ । निर्माण हुने मार्गमा सिमेन्टको प्रयोग नगरी ढुङ्गा छापेर परम्परागत शैलीमा निर्माण भइरहेको काठेखोला गाउँपालिका–७ रेसका वडाध्यक्ष प्रेम लामिछानेले बताउनुभयो । पदमार्ग पर्यटकले रुचाउने हुनुपर्ने बागलुङका पर्यटन व्यवसायी निलेश राजभण्डारी बताउनुहुन्छ ।
नितान्त प्राकृतिक तथा कम खर्चिलो पदमार्गमा टे«किङ गर्न पर्यटकले रुचाउने गर्छन् । यहाँ चिनियाँ र कोरियन पर्यटक आउन थालेको बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्