मधेश प्रदेशमा बाख्रा तथा भेडालाई पिपिआर रोग विरुद्धको खोप अभियान शुरुवात

जनकपुरधाम । बाख्रा तथा भेडाहरूमा लाग्ने पिपिआर रोगको नियन्त्रणका लागि मधेश प्रदेश सरकारले प्रदेशभरिका बाख्रा तथा भेडामा पिपिआर रोग विरुद्धको खोप दिने अभियानको आज शुरुआत गरेको छ ।
धनुषा जिल्लाको हंशपुर नगरपालिकाको वडा नंं ३ को मलहनीयामा मधेश प्रदेशका भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री गोविन्द बहादुर न्यौपानेले अभियानको शुरुआत गर्नु भएको छ । सो वडामा पालन गरिएको भेडा फर्ममा मन्त्रालयका सचिव डा. शरण कुमार पाण्डेले पिपिआर विरुद्धको खोप भेडालाई दिएर शुरुआत गर्नु भएको छ ।
मधेश प्रदेशमा रहेका सम्पूर्ण बाख्रा तथा भेडा मध्ये ५० प्रतिशतमा पिपिआर रोग विरुद्धको खोप लगाउने गरि प्रदेशको ८ वटै जिल्लामा एक सातासम्म चल्ने गरि अभियानको शुरुआत गरेको मधेश प्रदेशका भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री गोविन्द बहादुर न्यौपानेले जानकारी दिनु भयो । अभियान अन्तर्गत मन्त्रालयले ८ वटै जिल्लाका ७ लाख ९२ हजार बाख्रा तथा भेडामा खोप लगाउने भएको छ ।

समयमा खोप नलगाएका कारणले किसानहरुले पालन गरेको बाख्रा, खसी तथा भेडाको मृत्यु हुँदा मारमा पर्ने गरेकाले पिपिआर रोग नै नलाग्न दिनका लागि अभियानको थालनी गरेको र यो अभियान १ सातासम्म चल्ने मधेश प्रदेशका भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका डा. पाण्डेले जानकारी दिनु भयो ।
धनुषा जिल्लाका ९३ हजार बाख्रा, खसी तथा भेडालाई पिपिआर रोग विरुद्धको खोप लगाइने भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र धनुषाका प्रमुख डा. सञ्जीव कुमार ठाकुरले जानकारी दिनु भयो । यसका लागि १८ वटै पालिकामा ६४ जना भेक्सीनेटर पिपिआर रोग विरुद्धको भेक्सीन सहित परिचालन गर्ने काम भएको छ । किसानहरूलाई निःशुल्क रुपमा प्रदान गरिने सो खोपबाट पिपिआर रोग लाग्नबाट जोगाउने भएकाले खोप लगाउनका लागि डा. ठाकुरले आग्रह गर्नु भयो ।
खोप प्रति जनचेतना भएका कारणले सर्वसाधारणहरू आफै खोप केन्द्रमा खसी, बाख्रा तथा भेडा लिएर आएका थिए । पिपिआर रोग लागेपछि सिँगान आउने, ज्वरो आउने, खान नमान्ने जस्ता समस्या आएर बाख्रा तथा भेडाको मृत्यु पनि हुने गरेको डा. ठाकुरले बताउँदै रोग सङ्क्रामक भएकाले तीव्र गतिमा फैलिने पनि जानकारी दिनु भयो ।







प्रतिक्रिया राख्नुहोस्