वर्षौँपछि बिजुली पुगेपछि बर्दघाटको पहाडी क्षेत्रका बस्तीमा खुसीयाली

नवलपरासी,पश्चिम् । बत्तीमुनिको अँध्यारो जस्तै बनेको बर्दघाट नगरपालिका वडा नम्बर २ को पहाडी क्षेत्रका बस्तीहरू झलमल भएका छन् ।
अहिलेसम्म बिजुली बत्ती नपुगेका पटुके, दमार, तिलकेनी, चाबच्चा, विहारी, पोखरीछाप लगायतका बस्तीहरूमा आजदेखि बिजुली बत्तिको सेवा पुगेसँगै स्थानियवासीहरु निक्कै हर्षित भएका छन् ।
नेपाल विधुत प्राधिकरणको ५ करोडको लागतमा बर्दघाट वडा नं. २ को पहाडी क्षेत्रमा विद्युतीकरणको आयोजना निर्माण सम्पन्न भएको हो । २०७९ साल फागुन १८ गते टेन्डर आव्हान गरी २०८० पुस ११ गते विद्युतीकरणको निमार्ण कार्य सम्पन्न गरेको थियो । विद्युतीकरण नपुगेको थोरै जनघनत्व भएको ग्रामीण क्षेत्रमा विद्युतीकरणपछि स्थानीयहरू उज्यालोमा बस्न पाउने भएका हुन ।
अहिले पहिलो पटक ७ वटा बस्तीका १ सय २८ घर धुरीमा मिटर जडान गरी करिब २ सय घरधुरीलाई प्रत्यक्ष सेवा दिन लागिएको नेपाल विधुत प्राधिकरण राष्ट्रिय कर्मचारी युनियनका अध्यक्ष रामेश्वरप्रसाद पौडेलले बताउनुभयो । उहाँले विद्युतीकरण भएसँगै स्थानीयलाई लघु उद्यमसँगै रोजगारका अवसर सृजना गर्नमा बिद्यूतीकरणले सहयोग गर्नेमा आफु विश्वस्त रहेको बताउनुभयो ।
बर्दघाट नगर प्रमुख शम्भुलाल श्रेष्ठले पर्यटन विकासका रुपमा विकास गर्न पहाडी क्षेत्रलाई अब बिजुली बत्तिको सेवाले थप टेवा पुग्ने विश्वास ब्यक्त गर्नुभयो ।“उज्यालो नगर हाम्रो सङ्कल्प थियो आज पूरा भएको महसुस भएको छ । जनता अन्धकारमा बस्नुपर्ने अवस्थाको अन्त्य भएको छ ।” नगरप्रमुख श्रेष्ठले भन्नुभयो “यसअघि विद्युतीकरण नभएका सो क्षेत्रमा नगरपालिका विद्युतीकरण भएसँगै सो क्षेत्रको विकासमा नयाँ आयाम थपिने विश्वास रहेको छ ।








प्रतिक्रिया राख्नुहोस्