तपाईँ सुन्दै हुनुहुन्छः

महिला दिवसको अवसरमा ललितपुर बारले राख्यो सेनीटरी प्याड भेन्डिङ मेसिन

ललितपुर । ११४ औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा ललितपुर बार एसोसिएसनले महिला कानुन व्यवसायीहरूको लागि सेनीटरी प्याड भेन्डिङ मेसिनको व्यवस्था गरेको छ ।

ललितपुर बारको कार्यालय लगनखेलमा राखिएको भेन्डिङ मेसिनको उद्घाटन नेपाल बार एशोसियसनका उपाध्यक्ष तथा महिला समिति अध्यक्ष अधिवक्ता आशा राईले रिबन काटेर र नेपाल बारका महासचिव अञ्जिता खनालले सिक्का राखेर प्याड निकाली गर्नुभयो । भेन्डिङ मेसिनमा सिक्का छिराई नवलाई ३६० डिग्री घुमाएपछि प्याड प्राप्त गर्न सकिन्छ ।

कार्यक्रममा उपाध्यक्ष राईले ललितपुर बारको यो कदमप्रति धन्यवाद दिँदै महिला कानुन व्यवसायीहरूलाई अफ्ठयारो परेको बेला यसले सहयोग हुने बताउनुभयो ।

त्यस्तै महासचिव खनालले कानुन व्यवसाय क्षेत्रमा महिलाहरूको आकर्षक तथा सहभागिता बढ्दै गएको बेला यसले महिला कानुन व्यवसायीहरूलाई अफ्ठयारो पर्दा ठुलो सहयोग पुग्ने र अन्य बारमा पनि यो मेसिन राख्न जरुरी भएको भन्दै ललितपुर बारप्रति आभार व्यक्त गर्नुभयो ।

महिलाहरूले बेलाबेलामा भोग्नु परेको समस्यालाई मध्यनजर गरि महिला दिवसको अवसरमा नयाँ कामको शुरुवात गरिएको र जसले गर्दा महिला कानुन व्यवसायीलाई सहज हुने ललितपुर बारका सहसचिव तथा महिला समिति अध्यक्ष रिता शेर्पाले बताउनुभयो ।

ललितपुर बार एशोसियसनका कार्यसमिति सदस्य सुशीला कार्कीले सञ्चालन गर्नुभएको कार्यक्रममा ललितपुर बारका अध्यक्ष राम श्रेष्ठ, उपाध्यक्ष बाबुकृष्ण महर्जन, सचिव छोनम मोक्तान, सहसचिव रिता शेर्पा, कोषाध्यक्ष रमेश कुमार महर्जन, कार्यसमिति सदस्यहरूसहित ७०/८० कानुन व्यवसायीहरूको सहभागिता रहेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button