कञ्चनपुरमा राष्ट्रिय परिचयपत्र वितरण अभियान सञ्चालनको तयारी

कञ्चनपुर । कञ्चनपुर जिल्लामा आउँदो आइतबारदेखि राष्ट्रिय परिचयपत्र वितरण अभियान सञ्चालनको तयारी भइरहेको छ ।
पाँच वर्ष अगाडि बस्ती स्तरबाटै सङ्कलन गरिएका विवरणका आधारमा तयार गरिएका परिचयपत्र पाँच वर्षपछि वितरण हुन लागेको हो ।
जिल्ला समन्वय समिति कञ्चनपुरको सभाहलमा आज जिल्लास्थित सबै स्थानीय तहहरू, राजनीतिक दलका प्रतिनिधि र सञ्चारकर्मीहरूसँग अन्तरक्रिया गर्दै राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले आइतबारबाट परिचयपत्र वितरण सुरु गर्ने जनाएको हो ।
पाँच वर्ष अगाडि कञ्चनपुर जिल्लाबाट विवरण सङ्कलन अभियान सुरु गरिएको र आउँदो आइतबारदेखि कञ्चनपुर जिल्लाबाटै वितरण अभियान समेत सुरु गर्न लागिएको कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारीले बताउनुभयो ।
यो अभियान अन्तर्गत कञ्चनपुर जिल्लामा १ लाख ७२ हजार २३८ वटा परिचयपत्र विवरण गरिने छ । प्रत्येक वडा वडाबाटै वितरण गरिने यस अभियान अन्तर्गत पहिलो चरणमा कञ्चनपुरका दोधाराचाँदनी, भीमदत्त, बेलौरी र पुनर्वास नगरपालिकामा आइतबारबाट अभियान थालिने राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका निर्देशक मुकेश कुमार केशरीले जानकारी दिनुभएको छ । परिचय पत्र लिन सम्बन्धित व्यक्ति स्वयं उपस्थित हुनुपर्ने छ ।
राष्ट्रिय परिचयपत्र वितरण अभियानलाई सफल पार्न जिल्ला समन्वय समिति कञ्चनपुरले सबैलाई अनुरोध गरेको छ ।
सरकारले अब सामाजिक सुरक्षाको लागि राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने, सामाजिक सुरक्षा नवीकरण गर्दा बायोमेट्रिक भेरिफिकेशन गर्ने र स्थानीय तहमार्फत कार्ड वितरण गर्ने योजना बनाएको छ ।






प्रतिक्रिया राख्नुहोस्